(काठमाडौं) – चीनमा कोरोना भाइरसको संक्रमणको खतरनाक हुनसक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टरको कोरोनाकै कारण मृत्यु भएको छ । वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर ली वेनलियाङ्गको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले पुष्टि गरेको छ ।
उनले गत डिसेम्बर ३० तारिखमा केही बिरामीमा कोरोना भाइरस देखिएको जानकारी दिँदै यो खतरनाक हुनसक्ने बताएका थिए । तर, चिनियाँ प्रहरीले उनलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो । उनको स्वास्थ्यबारे विरोधाभासपूर्ण खबरहरु आइरहेका थिए ।
पछि वुहान सेन्ट्रल हस्पिटलले सामाजिक सन्जालमार्फत् उनको स्थिति गम्भीर रहेको भन्दै उनलाई जोगाउन हरसम्भव कोसिस गरिरहेको जानकारी दिएको थियो । पछि सरकारी आदेशअनुसार उनका स्वास्थ्य रिपोर्टहरु सार्वजनिक गरिएको थियो । चिकित्सक ली को भनाइ पुष्टि भएपछि चीनमा उनलाई समयमै कोरोनाबारे जानकारी दिएको भन्दै ’हिरो’ संज्ञा दिएको थियो ।
चीनको सरकारी मिडियाका अनुसार डाक्टर लीले ३० डिसेम्बरकै दिन आफ्ना साथी डाक्टरहरुलाई सार्स जस्तै भाइरसका संक्रमित विरामीहरु आफूले देखेको बताएका थिए । कोरोना भाइरसको संक्रमणका कारण चीनमा पाँच सय ६० जना भन्दा बढीको मृत्यु भइसकेको छ । सरकारी तथ्यांकअनुसार २८ हजार भन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् ।