काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले झापा, पर्सा र सर्लाहीमा थप तीन जनाको मृत्यु भएको जानकारी दिए ।
आइतबार साँझ रुपन्देहीमा थप ३ तथा पर्सा र सुनसरीमा थप १–१ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणका कारण मुलुकभर मृत्यु हुनेको संख्या १ सय ५४ पुगेको छ ।
मृत्यु हुनेमा झापाका ४८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
यस्तै, कोरोना संक्रमणका कारण बुटवलको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिकाकी एक महिला र सम्मरीमाई गाउँपालिकाका एक जना पुरुषको मृत्यु भएको हो । पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि ती महिलालाई गत साउन ३१ गते अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोरोना अस्पताल भर्ना गरिएको थियो ।
भदौ १ गते अस्पताल भर्ना भएका सम्मरीमाई २ का युवकको स्वास्थ्य अवस्था गम्भीर भएपछि २ गतेबाट आयसीयुमा उपचार भइरहेको थियो । श्वाशप्रश्वास र ज्वरो देखिएपछि अस्पतालले भदौ २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । अस्पतालमा भर्ना हुनुभन्दा १ साताअघि उनी भारतीय बजारमा किनमेलका लागि गएको र त्यसपछि कोरोना संक्रमणको लक्षण देखिएको थियो ।
रोहिणी गाउँपालिका–३ धकधइका ५३ वर्षीय संजय कुमार मिश्रको भने शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनहवामा मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गर्दा आइतबार संक्रमण पुष्टि भएको थियो ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा पर्साको बिन्दासनी गाउँपालिका–३ इटियाहीकी ७० वर्षीया वृद्धाको बिहान ११ बजेर ४० मिनेटमा मृत्यु भएको हो । क्षयरोगका बिरामी ती वृद्धामा श्वासप्रश्वासको समस्या देखिएपछि शनिबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । शनिबार नै उनको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । हालसम्म पर्साका ३० जना कोरोना संक्रमितको मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएका धरान–८ का ६८ वर्षीय पुरुषको आइतबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । ती पुरुषलाई साउन २९ गते कोरोना पोजिटिभ देखिएपछि साउन ३० गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा उपचार गराइरहेका ती वृद्धमा उच्च रक्तचाप, मधुमेह र स्वाशप्रश्वास सम्बन्धी समस्या थियो ।