काठमाडौं – कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईको कार्यक्रम बिथोलिएको छ ।साकेला गाउँपालिका–३ खिदिमामा बिहीबार आयोजित सर्वदलीय, सर्वपक्षीय नागरिक भेटघाट कार्यक्रममा स्थानियले अवरोध गरेका हुन् ।
गाउँपालिकामा राजनीतिक पूर्वाग्राहले विभिन्न योजना कटौती गरेको भन्दै अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा करिब तीन घण्टा कार्यक्रम बिथोलिएको हो । मन्त्री राई र अध्यक्ष राईबीच वार्तापछि कार्यक्रम सुरु भएको खोटाङका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
मन्त्री राईका सचिवालयका बाजिन्द्र विष्टले सुरुमा कार्यक्रम बिथोलिए पनि पछि एउटै मञ्चमा बसेर कार्यक्रम समापन भएको बताए ।
स्थानीयले कार्यक्रमस्थल प्रवेशमा मन्त्री राईलाई रोक अवरोध गरेका थिए । तर सुरक्षाकर्मीले पन्छाएर उनलाई कार्यक्रमस्थल प्रवेश गराएको थियो । कार्यक्रमस्थलमा सशस्त्र प्रहरी नायव उपरीक्षक दीपेन्द्र थापासहित सशस्त्र तथा जनपथ प्रहरी तैनाथ थिए ।