काठमाडौं – कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्व गर्ने तयारी गरेको छ ।
गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्र सभामुखलाई राजीनामा गराएर दाबी पेश गर्ने तयारी गरेको हो ।
नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राप्रपाले समर्थन नगरेको अवस्थामा सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी पेश गर्ने बताए ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज बेलुकी ५ बजे सकिंदैछ ।
गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेश गरेपछि सर्वाेच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।
परमादेशपछि सभामुखलाई राजीनामा गराएर गठबन्धनले सरकारमा दाबी पेश गर्न लागेको हो ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखलाई राजीनामा गराएपछि), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ पुग्छन् ।
सभामुखको राजीनामालाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टि छ । माओवादी सांसद गणेश उप्रेती सभामुखलाई राजीनामा गराउनु आत्मघाती कदम हुने बताउँछन् । ‘विश्वासको मत पाउने ग्यारेन्टी नभई सभामुखलाई राजीनामा गराउनु आत्मघाती कदम हो,’ उप्रेतीले भने,’पार्टीले यस्तो गम्भीर गल्ती गर्नुहुँदैन ।’
९३ सदस्यीय प्रदेश सभामा सभामुखलाई राजीनामा गराएर जाँदा गठबन्धन दलको कठिन बहुमत (४७) पुग्छ । तर विश्वासको मत पाउने सम्भावना भने न्यून छ ।
सभामुखले राजीनामा दिए उपसभामुख सिर्जना दनुवारलाई पनि राजीनामा गराउने एमालेको तयारी छ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी परिस्थिति सिर्जना भए उपसभामुखले पनि राजीनामा दिने बताउँछन् । ‘अहिले उपसभामुखको राजीनामा आउँदैन, तर परिस्थिति सिर्जना भयो भने आउन सक्छ’ उनले भने ।
सभामुख र उपसभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेश सभामा ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल छन् । मण्डललाई सरकारमा लगेर एमालेका ज्येष्ठ सदस्यलाई बैठकको अध्यक्षता गराउने विकल्पमा सत्ता पक्षले छलफल गरेको थियो । तर यो कदम पनि घातक हुने माओवादीका एक सांसदले बताए ।
‘सभामुखलाई राजीनामा गराउँदा एमालेले उपसभामुखलाई पनि राजीनामा गराउँछ’ ती नेताले भने, ‘त्यसपछि ज्येष्ठ सदस्य गठबन्धनमा हुनुहुन्छ, उहाँलाई सरकारमा लगेर विश्वासको मत लिने दिनको बैठकमा एमालेले आफ्ना ज्येष्ठ सदस्यलाई उपस्थित गराएन भने के हुन्छ ?’
संविधानको धारा १६८ को उपाधारा २ अनुसार गठन हुने सरकारले विश्वासको मत नपाए संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुनेछन् ।