कौशिमा तरकारी खेती गर्नेलाई मल बीउ नि:शुल्क

24

(ललितपुर) – ललितपुर महानगरपालिकाले कौशी खेतीलाई थप प्रवर्द्धन गर्न नि : शुल्क तरकारीको बीउ र मल वितरण गर्ने भएको छ ।

ललितपुरका सबै वडामा रायो, मुला, धनिया, बोडी, सिमी, फर्सी आदिको बीउ वितरण गर्ने तयारी भइरहेको छ । अन्यत्रबाट आएका तरकारी नगरवासीले प्रयोग नगरुन् भन्ने सोचका साथ बीउ वितरण गर्न लागेको वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए ।

बीउ लैजाने किसानको उत्पादनलाई बढवा दिन ‘दिव्या ब्राण्ड गड्यौला मल’ वितरण गर्ने भएको छ । घर हुने जनताले राम्ररी तरकारी फलाउन आधादेखि एक किलो कम्पोष्ट मल पनि नि : शुल्क पाउने भएका छन् ।

वडा नं १५ मा रहेका लगभग २ हजार घरलाई यी बीउ र मल वितरण गर्ने तयारी भइरहेको छ । ‘हाम्रो वडामा रहेका २३ टोल सुधार समितिका अध्यक्षलाई बोलाएर आ–आफ्ना ठाउँमा यी वस्तु वितरण गर्न लगाउने भएको छु’, उनले थपे ।

गोदावरी र महालक्ष्मी नगरपालिकाले पनि यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गरिरहेका छन् । कोरोनाका कारण बहालमा बस्ने जनताले राहत लिएसँगै घरजग्गा हुने जनताले बन्दाबन्दीमा धानलगायत तरकारीको बीउबिजन खरीद गर्न जान नपाएका कारण उनीहरुको समस्या समाधान गरी दिन यी दुई नगरपालिकाले सहयोग गरेका हुन् ।

ललितपुरमा रहेका तीन गाउँपालिका वाग्मती, महाँकाल र कोञ्ज्योसोममध्ये वाग्मतीले वडा नं ४ प्युटारका ४९० किसानलाई धानलगायत तरकारीको बीउबिजन नि : शुल्क वितरण गरिसकेको वडाध्यक्ष नारायणबहादुर घलेले जानकारी दिए । रासस

समाचार वर्गहरू