काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् ।
चन्दले ४४ मत ल्याए । उनका प्रतिस्पर्धी विनयराज पाण्डेले १५ मत पाए । विशेष साधारणसभा तथा कार्यसमिति निर्वाचनसँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध हट्ने विश्वास लिइएको छ ।
४ पदाधिकारीसहित १७ जनाको कार्यसमिति रहेको क्यानमा चन्द समूहको वर्चश्व देखिएको छ । क्यानको निर्वाचनमा ५९ जनाले मतदान गरेका थिए ।
उपाध्यक्षमा राजुबाबु श्रेष्ठ ४१ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी मिङ्मा डुन्डु शेर्पा १७ मत प्राप्त गरी पराजित भए । महासचिवमा अशोकनाथ प्याकुरेल विजयी भए ।
उनले ४३ मत पाए । महासचिव प्रतिस्पर्धी विनोद मैनालीले १५ मत मात्रै पाए । ४५ मतसहित कोषाध्यक्षमा रोशन सिंह विजयी भए । उनका प्रतिस्पर्धी उपेन्द्रप्रसाद भट्टराईले १२ मत प्राप्त गरेका थिए ।