काठमाडौं – कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको छ ।
आदर्श कोतवाल गाउँपालिका–२ खजुरियागाउँ घर भएका ४८ वर्षीय कुशवाहमाथि बतरा र भटिनिया गाउँबीचको सडकमा बाइकमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।
बारा सदरमुकाम सदरमुकाम कलैयामा डेरामा बस्दै आएका कुशवाह शुक्रबार साँझ मोटरसाइकलमा फर्किरहेका बेला उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाइकमा आएको अज्ञात समूहले हानेको गोली उनको पिठ्युँमा लागेको थियो । घटनालगत्तै उनलाई उपचारका लागि वीरगन्जको बयोधा अस्पताल लगिएको थियो । उपचारकै क्रममा अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले हत्या आरोपमा २ जना शंकास्पदलाई पक्राउ गरिएको बताए । पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।