काठमाडौं – काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोबाट अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई पक्राउ गरेको छ ।
क्यासिनोबाट अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न भारत विहार मोतिहारी घर भएका ३८ वर्षीय रंजित कुमार जैसवाल लगायत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त क्यासिनोमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ८ लाख २६ हजार ९ सय ८० रुपैयाँ, ९ लाख रुपैयाँ लेखिएको ३ थान बैंक चेक, करिब ५ लाख ७० हजार रुपैयाँ बराबरको ३ सय ९० वटा क्यासिनो क्याईन, १५ बुक तास, ३ थान ग्रिन गोल्ड र ३ थान प्लाटिनम कार्ड, १ थान पैसा गन्ने मेशिन र १ थान स्लट मिटर रिडर बुक समेत प्रहरीले बरामद गरेको छ ।