काठमाडौं – नेपाली कांग्रेसको निर्वाचन समितिले क्रियाशील सदस्यताको नामावली नबुझ्दै ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ ।
तर अनसनरत वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहले केन्द्रीय प्रतिनिधि छनोटमा पनि असन्तुष्टि जनाइरहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।
महामन्त्री पुर्ण बहादुर खड्काले बुधबार साँझ ३८ जिल्लाको नामावली निर्वाचन समितिलाई बुझाउन खोजेका थिए । तर निर्वाचन समितिले जिल्ला सभापतिहरू आन्दोलनमा रहेको र पार्टीभित्र सदस्यताका विषयमा सहमति बनिनसकेको भन्दै पूरा नामावली मात्रै बुझ्ने जानकारी गराएको थियो ।
त्यस्तो अवस्थामा नामावली हात नपर्दै निर्वाचन समितिले ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि निर्धारण गरेको हो । तर ‘माइन्यूट’ नगर्दै सार्वजनिक गरेमा विवाद हुन्छ भन्दै सार्वजनिक गरिएको छैन ।
कांग्रेसको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जिल्ला सभापतिहरू नामावली सार्वजनिक गर्नु पर्ने माग राखेर पार्टी कार्यालयमा धर्नामा बसेको र त्यो धर्नालाई पदाधिकारीसहितका शीर्ष नेताले समर्थन जनाएकाले अपूरो नामावलीको सूची बुझ्न नसक्ने जानकारी पार्टी नेतृत्वलाई गराएको बताए ।
कांग्रेसले १८ भदौका लागि वडा अधिवेशनको मिति निर्धारण गरेको छ । एक सातामात्रै बाँकी रहँदासम्म पनि सदस्यताको नामावली निर्वाचन समितिलाई नबुझाएपछि कतै यो पटक पनि अधिवेशन नहुने त होइन भन्ने आशंका नेता कार्यकर्तामा व्याप्त छ ।