काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४० वर्षीया लालिमाया दर्लामी छन् । उनलाई प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरिएको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालय एसी काजी कुमार आचार्यले जानकारी दिए ।