(जाजरकोट) – भारतबाट आएकालाई विद्यालयको भवनमा राख्न थालेको भन्दै जाजरकोट भेरेका स्थानीयले विद्यालय नै भत्काइदिएका छन् । भारत लगायत मुलुकबाट उद्धार गरि ल्याइएकालाई विद्यालयमा क्वारेन्टाइन बनाइ राख्न आवश्यक तयारी थालिएपछि भेरी नगरपालिका ६ कृष्ण मन्दिरमा रहेको कृष्ण प्राथमिक विद्यालय भवन केही शिक्षक र स्थानीयले भत्काइदिएका हुन् ।
भारतबाट आएकालाई नजिक राख्दा कोरोना सर्ने भन्दै स्थानीय लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कार्यरत शिक्षक जयबहादुर शाही लगायतका केही स्थानीयले विद्यालय भवन पुरै भत्काइदिएको वडा अध्यक्ष शसी बुढाले बताए ।
अधिकांश गाउँलेको सहमति, वडास्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशनअनुसार आफूहरुले उक्त विद्यालयलाई क्वारेन्टाइन बनाइ उद्धार गरिएका स्थानीयलाई राख्न खोज्दा शिक्षक शाही, स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र वले घर्तीलगायतले विद्यालय भवन नै भत्काइदिएपछि ब्यबस्थापनमा समस्या भएको वडाध्यक्ष बुढाले बताए ।
भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र महाविपत्तीको बेला स्थानीय सरकारको काममा अवरोध पुर्याउने र अराजकता देखाउनेमाथि कडा कारबाही हुने बताए।नगर प्रमुख घर्तीले विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जो सुकै भएपनि कारबाही गरिने बताए ।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय जाजरकोटमा आधिकारिक जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक यम बहादुर मल्लले जानकारी दिए ।