(सुर्खेत) – सुर्खेतमा क्वारेन्टाइनमा बसेर घर फर्किएका एक जना युवाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा १, हाँसे गाउँका २० वर्षीय युवाको बिहीबार बिहान मृत्यु भएको हो ।
उनी जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वारेन्टाइनमा बसेका थिए । बुधबार आरडीटी परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि उनीसँगै पाँच जना घर गएका थिए ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बुधबार दिउँसो तीन बजे उनीहरू गइसकेपछि परिवारबाट टाढा रहेर एक हप्ता होम क्वारेन्टाइनमा सुरक्षित भएर बस्न सुझाव दिएको र उनीहरू गाउँमै भएको सामुदायिक भवनमा बस्ने गरी रात ११ बजे पुगेको जानकारी दिए । उनले भने, ‘घर नजिकै मौरी पालनका लागि निर्माण गरिएको सामुदायिक भवन भएकाले घरमा बस्नुभन्दा सामुदायिक भवनमा बस्ने र घरबाट खाना ल्याउने गरी त्यही बस्ने तयारी गरेका रहेछन् ।’
वडा नं १ का अध्यक्ष धनबहादुर थापाले बिहान २ बजे बिरामी भएको खबर आएको र त्यहाँ पुग्दा मृत्यु भइसकेको बताए । खाना खाएर सुतेपछि एक्कासि घाँटी घ्यारघ्यार भएको १५ मिनेटमै मृत्यु भएको सँगै भएका साथिहरूले जानकारी गराएको अध्यक्ष थापा बताउँछन् ।
वडाअध्यक्ष थापाका अनुसार युवाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर वीरेन्द्रनगरमा पठाउने तयारी गरिएको छ । पीसीआर रिपाेर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको हो भनेर खुल्ने उहाँले बताउनुभयो ।