गलकोट – क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रको काम शुरु भएको छ । कुडुले चोकदेखि मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडकमा कालोपत्रको काम शुरु भएको हो ।
गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको पहलमा गण्डकी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४२ करोडको लागतमा सो सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न लागिएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजना अनुरुप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम शुरु भएको प्रदेशसभा सदस्य सापकोटाले जानकारी दिए ।
दुई वर्षभित्र कालोपत्रे सक्ने गरी काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको निर्माण कम्पनीका साइड इञ्चार्ज रविन चपाईले जानकारी दिए । कात्तिक २ गते ठेक्का सम्झौता गरी अहिले धमाधम निर्माण कार्य शुरु गरेको चपाईको भनाइ छ । काममा अवरोध नभए ठेक्का अवधिमै कालोपत्र सक्ने उनले बताए ।
चपाईका अनुसार १४ किलोमिटर सडक आठ मिटरको मापदण्डअनुसार चौडा हुने, एक मिटर नाली निर्माण र ५.५ मिटर चौडा सडक कालोपत्र हुनेछ । पहिलो चरणमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानासम्म कालोपत्र गरे पनि दोस्रो चरणमा तितौरै भीमपोखरा, धम्जा, बिहुँ, लेखानी, रेश हुँदै बलेवा जोड्ने सडक विस्तार र कालोपत्र गर्ने योजना रहेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए ।
यो सडक कालेपत्र भएसँगै प्रसिद्ध धार्मिकस्थल पञ्चकोट र कुडुलेमा भएको भूमिगत शालिग्राम संग्राहालयमा धार्मिक पर्यटक बढ्ने विश्वास लिइएको छ । ग्रामीण सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले आजित भएका स्थानीयवासीलाई सडक कालोपत्र भएपछि राहत हुनेछ ।
गण्डकी प्रदेश सरकारको ११ जिल्लामा ३६ रणनीतिक क्षेत्रीय सडक रहेका छन् । बागलुङमा रहेका चार रणनीतिक सडकमध्ये यो सडक सबैभन्दा लामो हो ।
रासस