खट्ने सुरक्षाकर्मी, घुम्ने कर्मचारी

22

काठमाडौं – यसपालि बजेटले एउटा नितान्त फरक कार्यक्रम ल्याएको छ– सरकारी कर्मचारीलाई १० दिनको तलबी पर्यटन काज। तर, त्यो सुरक्षाकर्मी र शिक्षकका हकमा भने लागू हुने छैन।

‘आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइनेछ’, बजेट वक्तव्यमा भनिएको छ, ‘निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिनेछ। राष्ट्रसेवक कर्मचारीको मनोवल बढाइ सार्वजनिक सेवालाई प्रभावकारी बनाइनेछ।’

उक्त सुविधामा आफूहरूलाई नियतवश छुट्ट्याएर भेदभाव गरिएको भन्दै सेना, जनपद, सशस्त्र प्रहरी र शिक्षकहरूले गुनासो गरेका छन्। कोरोना महाविपत्तिमा सुरक्षाकर्मी ज्यानको बाजी राखेर सर्वसाधारणको सेवामा खटिएका छन्। रातदिन ड्युटी गरेका छन्। अत्यावश्यकबाहेक अन्य सेवाका निजामती कर्मचारी भने कार्यालय बन्द गरेर घरमै बसेका छन्।

‘राज्यको सुविधा भने खट्नेलाई होइन, बस्नेलाई केन्द्रित गरिएको छ’, एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘निजामतीलाई दिइएकामा हाम्रो आपत्ति छैन। तर, हामीलाई छुट्ट्याइएको कुरा चित्तबुझ्दो छैन। यो न्यायसंगत होइन।’

यससम्बन्धमा जिज्ञासा राख्दा अर्थ सचिव शिशिर ढुंगानाले स्पष्ट प्रतिक्रिया दिएनन्। उनले भने, ‘बजेटमा स्पष्ट लेखिएको छ, यसमा कोही किन झुक्किनुपर्ने छ र ?’ बजेटमा सबैलाई समेटिने ठाउँमा ‘राष्ट्रसेवक’ लेखिएको हुन्छ। अर्थ मन्त्रालयकै एक उच्च अधिकारीले सुरक्षाकर्मीका हकमा अन्यत्र सुविधा बढाइएकाले पर्यटन काजलाई प्राथमिकतामा नराखिएको हुन सक्ने बताए।

पूर्वअर्थ सचिव कृष्णहरि बास्कोटाले बजेटमा लेखिएको शब्दअनुसार निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई मात्रैले यो सुविधा पाउने प्रस्ट देखिएको बताए।

‘बजेटमा लेखिएअनुसार ७० हजार निजामती, ६२ संस्थान र करिब ७ प्रतिष्ठानका कर्मचारीलाई मात्रै यो सुविधा उपलब्ध हुने देखिन्छ,’ उनले भने।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सबै राष्ट्रसेवकलाई विभेद गर्न नपाइने बताए। ‘बजेटमा हामीसहित सेना, प्रहरी, स्थानीय कर्मचारीको विषयमा स्पष्ट छैन’, उनले भने, ‘भेदभाव गर्न पाइँदैन।’

महासंघका तर्फबाट आफूले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई यसबारे जानकारी गराएको उनले बताए। ‘शिक्षामन्त्रीले शिक्षकलाई विभेदमा पर्न नदिने आश्वासन पाएको छु’, उनले भने। निजामती कर्मचारी सरह सेवा सुविधा शिक्षकले पाउनुपर्नेमा उनले जोड दिए।

प्रतिकार्यमा सेना 
नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार, संक्रमण सुरुवातदेखि नै कोभिड–१९ प्रतिकार्यमा सेनालाई परिचालन गरिएको थियो। सरकारले २० वटा सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो। त्यसमा सेनाले सघाएको प्रवक्ता पौडेलले जानकारी दिए।

कोरोना संक्रमण उत्कर्षमा पुगेको बेला सेनाले १५ देखि २० हजार जनशक्ति परिचालन गरेको थियो। प्रवक्ता पौडेलले अन्नपूर्ण पोष्ट्सँग भने, ‘होल्डिङ सेन्टर, आइसोलेसन, हेल्थडेक्स, अक्सिजन प्लान्टको सुरक्षाका साथै शव व्यवस्थापनको काममा पनि सेना खटिएको छ।’ अहिले पनि प्रत्येक दिन पाँच सयका दरले जनशक्ति खटाइरहेको उनले जानकारी दिए।

शव व्यवस्थापनमा प्रशंसा पाइरहेको नेपाली सेनाका ६ हजार ३ सय १६ जना संक्रमित हुन पुगे। जसमध्ये ८ जनाको ज्यान गएको छ। अहिले पनि ३ सय ९ जना उपचाररत छन्। सीसीएमसीको निर्देशनमा प्रादेशिक र स्थानीय सरकारसँग समन्वय गरेर सेना खटिएको हो। ‘भारतबाट नेपाल फर्केकाहरूको स्वास्थ्य परीक्षण गरेर प्रदेश र जिल्ला गत छुट्ट्याउने र यातायातको व्यवस्था गरी क्वारेन्टाइन स्थलसम्म पठाउन सेनाले सहयोग गरेको थियो’, उनले भने।

नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार प्रहरी अस्पतालमा १५० बेड क्षमतालाई वृद्धि गरी कोभिड उपचारका लागि ३०० बेड बनाइएको छ। अक्सिजन प्लान्ट निर्माण गरिएको छ। एचडीयू र आईसीयूमा रहेका बिरामीका आफन्तलाई दैनिक काउन्सिलिङ गरिन्छ। १८ जना विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरूद्वारा डेडिकेटेट रुपमा ५ दिनसम्म उपचारमा संलग्न रहने व्यवस्था मिलाइएको छ। सर्वसाधारणलाई प्रहरीले झण्डै तीन लाख मास्क निःशुल्क वितरण गरेको प्रवक्ता कुँवरले जानकारी दिए। निषेधाज्ञा उल्लंघन गर्नेहरूलाई कारबाही गर्दै ३३ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ। ‘औषधिजन्य सामग्रीमा कालोबजारी गर्ने, नक्कली सेनिटाइजर बनाउने र बिक्री गर्नेलगायत अपराधजन्य कार्यमा संलग्नहरूलाई पक्राउसमेत गरिएको छ’, उनले भने।

अन्नपुर्णपोष्ट बाट ।

समाचार वर्गहरू