खारेजीमा परेको म्यानपावरद्वारा विदेश पठाउने नाममा ठगी

15

(काठमाडौं) –  खारेजीमा परेको म्यानपावरले पनि कामदार विदेश पठाउने नाममा ठगी गरिरहेको भेटिएको छ । विगतमा वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था बमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका संस्थाहरुलाई वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गरी दिएको निर्देशन विपरीत त्यस्ता संस्थाले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेको हो ।

खारेजीमा परेर वैदेशिक रोजगारीका नाममा ठगी गर्ने संस्थाको कार्यालयमा विभागको सिलबन्दी गरेको छ । वैदेशिक रोजगार विभागले गत भदौ २९ मा सूचना प्रकाशित गरी त्यस्तो काम नगर्न दिएको निर्देशन दिएको थियो । सरकारको निर्देशन विपरीत कतिपय संस्थाले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेको विभागले बताएको छ ।

काठमाडौं महानगरपालिका ४ चप्पलकारखाना ‘सी लिंक ओभरसिज’को इजाजतपत्र स्वतः रद्द भएपनि हाल सम्म सक्कल राहदानी र रकम फिर्ता नगरेको पाइएको छ । पीडित निमिका शेर्पा समेत ७ जनाले राहदानी र क्षतिपूर्ति रकम दिलाई पाउँ भनी दिएको उजुरीको आधारमा विभागले आकस्मिक अनुगमन टोली खटाएको थियो ।

अनुगमन टोली विगतमा म्यानपावरको कार्यालय रहेको भवनमा पुग्दा करीब ७०/८० जना व्यक्तिहरु बुझाएको राहदानी र रकम फिर्ता पाउने आशमा भवन परिसरमा कुरिरहेको पाइएको थियो । तर उक्त कम्पनीले विभागको निर्देशन विपरित हालपनि कार्यालय खडा गरी वैदेशिक रोजगारमा पठाईदिने भनी व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरिरहेको अनुगमन टोलीको प्रारम्भिक अनुसन्धानमा फेला परेको छ ।

अनुगमन टोली आएको थाहा पाएपछि कम्पनीको संचालक भनिएका अनिस सुन्दास भन्ने व्यक्ति सम्पर्क्विहिन भएको भएका छन् । राहदानी र व्यक्तिहरुले रकम बुझाएको प्रमाण भएका कागजातहरु सुरक्षित गर्नको लागि घर धनी र सुरक्षाकर्मीको रोहवरमा कार्यालय रहेको घरलाई सिलबन्दी गरिएको छ ।

यस भन्दा अघि पनि भदौ २४ गते वौद्ध प्रहरीले कम्पनीले संकलन गरेका करिव १५० जना व्यक्तिहरुको राहदानी सहित कम्पनीका कर्मचारीलाई वौद्ध क्षेत्रवाट नियन्त्रणमा लिई वैदेशिक रोजगार विभागमा मानिस सहित राहदानी बुझाएको थियो ।

पछिल्लो समय धरौटी थप गर्न नसकी खारेजीमामा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी सोझासाझा व्यक्तिहरुलाई झुक्याई राहदानी र रकम बुझ्ने काम गरिरहेको भन्ने मौखिक गुनासो प्राप्त भएको विभागले जनाएको छ ।

त्यस्तो कार्य गर्ने व्यक्ति वा संस्थाबारेमा जानकारी प्राप्त गर्ने जुनसुकै व्यक्तिले वैदेशिक रोजगार विभागमा जानकारी गराउन विभागले सबैमा अनुरोध गरेको छ । त्यस्ता ठगी धन्दा चलाउनेहरु बिरुद्ध कानून बमोजिम हदैसम्मको कारबाही गर्ने तयारीमा विभाग रहेको छ ।

समाचार वर्गहरू