खेतीयोग्य जमीन बाँझो नराख्न प्रधानमन्त्रीको आग्रह

18

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमीन पनि खाली नराखी आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक तथा सपथ ग्रहण समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री कृषि आधुनिकरण लगायत कार्यक्रम मार्फत सरकारले कृषि क्षेत्रलाई अगाडि बढाउने योजना बनाई रहेको बताए । जमिनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ विस्तार गर्ने तर्फ सरकारको ध्यान केन्द्रित भएको उनले बताए ।

नेपालको कृषि क्षेत्रमा अबको क्रान्ति फरक ढंगले आधुनिकीकरणको रुपमा, व्यवसायिक कृषिको रुपमा, उन्नत कृषिको रुपमा र प्रविधिको प्रयोग गरेर अगाडि जाने कृषिको रुपमा, देशलाई आत्मनिर्भर बनाउने कृषि र देशको उत्पादनलाई निर्यात गर्न सक्ने कृषिको रुपमा अगाडि बढाउन उनले आग्रह गरेका छन् ।

नेपालमा एउटा नयाँ ढंगको विश्वमै नयाँ प्रकारको कम्युनिष्ट आन्दोलनले, वामपन्थी आन्दोलनले समयानुकूुल बाटो लिएको भन्दै उनले त्यो बाटोले सफलता प्राप्त गरेको बताए । उनले भने, ‘निरङ्कुशतन्त्र, निरङ्कुश राजतन्त्र, सामन्ती राजनीतिक प्रणाली त्यसलाई हामीले फालेका छौं । तर, सङघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यो लामो बलिदानपूर्ण संर्घषको परिणाम हो । यसले ठूलो परिवर्तन देशमा ल्याएको छ । तर, यो मात्र परिवर्तन देशमा आएको होइन ।’

प्रधानमन्त्री ओलीले गरिब र धनी बीचको खाडल पुर्नेगरी न्याय र समतामूलक मानव जातिका लागि सुरक्षित र समृद्धिको यात्रामा सिङ्गै समाजलाई उठाउन सरकार लागेको जानकारी दिए ।

‘समाजवादी प्रणाली तर्फ लोककल्याणकारी राज्यका अवधारणा अनुसार केही मान्छे धनी हुने, केही मान्छे फेरि गरिबै हुने, केही मान्छे घरबिहीन, रोजगारीबिहीन, आम्दानीबिहीन, अवसरबिहीन गरिबै हुने, अभावग्रस्तै जिन्दगी बिताउनु पर्ने र केही मान्छेहरुले अकुत सम्पति कमाउने र त्यस अकुत सम्पति कमाएको बाट देश कति माथि पुग्यो भनेर धनीहरुको सम्पति जोडेर प्रतिव्यक्ति सरदर आम्दानी राष्ट्रिय समग्र उत्पादनसँग जोडिने तर, समाजको एउटा हिस्सा भोकै पर्ने त्यस्तो प्रणाली होइन । सिंगै समाजलाई उठाउने, सिंगै समाज सम्पन्न हुने प्रणाली हामीले लिएका छौं ।’

प्रधानमन्त्री ओलीले पार्टीले अब गति लिने बताए । नेकपाको एकता प्रक्रियाको पूर्णतामा केही ढिलाइ भएपनि अब टुङ्गिएकाले पार्टीले गति लिने उनले बताए । लामो समयको बलिदान र संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारीसँगै सरकार सुशासन र विकासको बाटोमा अघि बढेको उनले बताए ।

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लाग्ने गरेको भन्दै उनले आफूहरुले एकता गरी दुई तिहाईको मत सहित सरकार बनाएको उल्लेख गरे । उनले भने, ‘कम्युनिष्टहरु झगडा गर्न जान्दछन्, फुट्न जान्दछन् भन्ने अवस्थाबाट देशको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनायौं । अहिले हाम्रो देशमा कायम रहेको निर्वाचन प्रणालीबाट बहुमत प्राप्त गर्न सजिलो छैन्, साह्रै कठिन छ । यो बहुमत आउँने प्रणाली होइन । यो देशमा अस्थिरता आउने खालको प्रणाली हो, यसमा सजिलोसँग बहुमत आउँदैन । तर, जे भएपनि हामीले सुदृढ बहुमतसहितको सरकार कायम गरेका छौं । हामीसँग सुदृढ बहुमत छ ।’

पार्टीको एकीकरण भइसकेपछि पनि त्यसलाई तलसम्म पु¥याउँन ढिला भएको भन्दै विभिन्न कारणले एकता र एकीकरणको प्रक्रिया ढिला हुँदा हाम्रा थुप्रै कामहरुमा गतिरोध उत्पन्न भएको उनको भनाई थियो । उनले भने, ‘हामी आलोचित हुने स्थिति पनि बन्यो । तर अब हामीले एकता, एकीकरणको प्रक्रियालाई टुङ्ग्याएका छौं र अब पार्टीलाई गतिशील ढंगले अगाडि बढाउनुपर्छ । कतिपय कारणहरुले हामीले सरकारले गर्नुपर्ने, पहिलेनै गरिसक्नु पर्ने कामहरु पनि केही पर सारेका छौं । त्यसको लागि समय लाग्ने होइन, तर हामी गर्छाैँ । देशको परिस्थिति र यस परिस्थिलाई उपयुक्त ढंगले अगाडि बढाइन्छ ।’

सरकारले देशको अर्थतन्त्रलाई, देशको सामाजिक व्यवस्थालाई सुशासन र विकासको बाटोमा तीव्रताका साथ अगाडि बढाउन चाहेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम हामीले अगाडि बढाउन खोजेको उनले बताए । उनले भने, ‘तर, हामीसँग भएको संयन्त्र, हाम्रा विज्ञहरुको अध्ययन, अब हामीले गर्न खोजेको कुरा तपाईंहरुले अध्ययन गर्नुभएको होला । त्यसकारण अब नयाँ प्रविधिका साथ उत्पादनका क्षेत्रमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नु पर्ने । र, कुनै पनि ठाउँ, कुनै पनि समय केही पनि खेर जान नदिनु पर्ने सदुपयोगको सिद्धान्तः जमिनको सदुपयोग । कुनै जमिनको कुनै टुक्रो खाली नरहोस्, अनुत्पादक नरहोस् । हाम्रो कुनै समय, कुनै शक्ति, कुनै सामथ्र्य अनुत्पादक र खेर जाने नहोस् ।’

विभिन्न स्थानहरुमा कृषि सम्बन्धी विज्ञहरु रहेको तालिम केन्द्रहरु वा अहिलेको प्रविधि किसानहरुलाई सिकाउने र त्यस अनुसारको खेती गर्ने पर्नेमा उनले जोड दिए । किसानका खेतहरुमा गएर प्राविधिक पढाई सिकाउने र प्राविधिकहरुका प्रयोग पनि किसानका खेतमा गएर गर्ने नीति लिएको उनले बताए । त्यस प्रकारको विधि मार्फत किसानको चेतना पनि आधुनिकीकरण गर्ने, कृषि सम्बन्धी र प्रविधि पनि सिकाउनु पर्ने उनले बताए ।

नले भने, ‘यी सबै कामहरुको पनि योजना हामी गरिरहेका छौँ । र, त्यस अनुसार हामी, हामीले सुरु गर्दा खेरी नै गत वर्ष कृषिमा ६ प्रतिशत भन्दा बढी समग्रतामा उत्पादन वृद्धि गरेका छौँ । गत वर्ष हामाीले धान उत्पादनमा ९ प्रतिशत वृद्धि गरेका छौँ । यस वर्ष सुरुमा पानी नपरेर अलिकति धान जस्ता उत्पादनहरुमा केही प्रतिकुलता थपिएको छ । तर पनि मलाई के विश्वास छ भने, हामी जुन ढंगले अगाडि बढिरहेका छौँ, यसले यस वर्षको उत्पादनमा पनि राम्रै वृद्धि हुने छ र आगामी वर्षका लागि हामीले अरु योजनाहरु बनाउने र गम्भीर ढंगले काम अगाडि बढाउने कोसिस गरिरहेका छौँ ।’

नयाँ चरणमा कम्युनिस्ट पार्टीले नेतृत्व गरेर देश बनाउने अभियानमा जुटिरहेको भन्दै उनले कम्युनिस्ट पार्टीको अगुवाइमै ठूलो परिवर्तन भन्दा पछिको समयमा आईपुगेको बताए । उनले भने, ‘यस समयमा हाम्रो काँधमा गहन जिम्मेवारी छ । चुनौतीहरु पनि छन् । तर, ती चुनौतीहरुको हामी सामाना गर्न सक्छौँ र हाम्रा लागि जनताले जुन विश्वास गरेर दिएको छ त्यस अनुसार सालिनताका साथ त्यस विश्वासलाई हामीले लिएका छौँ र हामी आफ्नो जिम्मेवारी त्यसै गरी अगाडि बढाउछौँ ।’

स्थानीय तह, जनप्रतिनिधिसँग र स्थानीय तहका पार्टी कार्यकर्तासँग मिलेर, विकासको अभियानलाई अगाडि बढाउन सबैलाई उनको आग्रह थियो ।

समाचार वर्गहरू