काठमाडौं – प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका भ्रष्टाचारसम्बन्धी अभिव्यक्तिलाई सत्तापक्ष र विपक्षी दलको सहमतिमा संसद्को रेकर्डमै नरहने गरी हटाइएको छ । ‘पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल राखिएको’ भन्ने माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति हटाउन सभामुख देवराज घिमिरेले शनिबार निर्देशन दिएका हुन् ।
दाहालले जेठ १० को बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका बेला यती, ओम्नी, स्वास्थ्य सामग्री खरिद, पशुपतिनाथको जलहरीलगायतमा भ्रष्टाचार भएको विषय उठाएका थिए । एमालेले शुक्रबारको बैठकमा उनको अभिव्यक्ति निराधार रहेकाले संसद्को रेकर्डबाट हटाउनुपर्ने र सरकारले जवाफ दिनुपर्ने भन्दै अवरोध गरेपछि रेकर्डबाट हटाइएको हो । दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउन सत्तापक्षले पनि सहमति जनाएको थियो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा एमाले अध्यक्ष ओलीले सरकारको आलोचना गरेका थिए । त्यसपछि उनलाई जवाफ दिने क्रममा माओवादी सांसद दाहालले भनेका थिए, ‘उहाँ तीन वर्ष सरकारमा रहँदा यती, ओम्नी, स्वास्थ्य सामग्रीमा २ अर्ब भ्रष्टाचार, पशुपतिनाथमा जलहरी लगाउँदा सुन लगाउने भनेर पित्तल लगाइएको थियो, यस्ता सयौं भ्रष्टाचार काण्ड छन् ।’
सुनको सट्टा पित्तल राखेको अभिव्यक्ति संसदीय मर्यादाविपरीत भएको र आफ्नो नेतामाथि लगाइएको आरोप गलत भएकाले सरकारले जवाफ दिनुपर्ने अडान राखेर एमालेले शुक्रबार बैठक चल्न नदिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बैठकमा जवाफ दिएका थिए । शनिबार बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले सिटबाट उठेर विरोध जनाएका थिए । सभामुखले एमालेले उठाएको विषयमा जवाफ दिन प्रधानमन्त्री दाहाललाई अनुमति दिएपछि बैठक सञ्चालन भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर संसद्मा प्रश्न उठ्नु सही नभएको दाहालले बताए । ‘पशुपति विकास कोषले लगाएको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन, यस्ता विषय संसद्को रेकर्डबाट हटाउने व्यवस्था पनि रहेकै छ,’ उनले भने ।
माओवादी अध्यक्षसमेत रहेका दाहालले नै आफ्नो पार्टीका सांसदले बोलेको अभिव्यक्ति हटाउन सहमति दिएपछि सभामुखले निर्देशन दिएको संसद् सचिवालयले जनाएको छ । सभामुख घिमिरेले ‘स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको र पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तल राखेको’ भन्ने शब्द हटाउन निर्देशन दिएका छन् । कान्तिपुर दैनिक बाट ।