गगन थापालाई ३० केन्द्रीय सदस्यको सुझाब : सभापतिबाट राजीनामा दिनु विकल्प होइन

78

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० बढी केन्द्रीय सदस्यहरूले सभापति गगन थापालाई राजीनामा नदिने सुझाएका छन्।

आज बिहान बालुवाटारमा सभापति थापासँग भेटेका नेताहरूले थापालाई राजीनामा विकल्प नभएको बताएका हुन्। थापालाई भेट्न सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईँलगायत नेताहरू पुगेका थिए।

भेटमा पछिल्ला समसामयिक घटनाक्रम, चुनावी समीक्षालगायतको विषयमा कुराकानी भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए।

उनले सभापति थापालाई अहिले राजीनामा दिएर कुनै निकास ननिस्कने भन्दै नदिन आफूहरूले भनेको समेत बताए।

उनले भने, ‘अहिले कांग्रेसलाई सम्हालेर लैजानुपर्ने बेलामा राजीनामा दिन उपयुक्त हुँदैन भनेर हामीले भन्दै आएका थियौँ। आज हामीले उहाँसँगको भेटमा पनि त्यही कुरा राखेका हौँ।’

प्रतिनिधि सभाको चुनावमा कांग्रेसको लज्जास्पद हार भएपछि सभापति थापाले राजीनामा दिने बताएका थिए।

तर उपसभापति विश्वप्रकाश शर्माले हतार नगर्न आग्रह गरेपछि अहिले रोकिएका छन्। चुनावी समीक्षाको लागि चाँडै केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी छ।

समाचार वर्गहरू