गगन थापाले गरे प्रचण्डको सराहना सँगै आलोचना

74

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सराहना गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको सराहना गरेका हुन्।

उनले भने, ‘पूर्वप्रधानमन्त्रीज्यू प्रचण्डले यहाँ अहिले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ। खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु। हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ।’

महामन्त्री थापाले जनता आक्रोशित भएकाले उनीहरु रिसाएको विषयमा समाधान खोज्नुपर्ने बताए। उनले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको पनि बताए।

थापाले गणतन्त्र आएपछि सबैभन्दा धेरै सरकारमा माओवादी केन्द्र बसेको उल्लेख गर्दै अहिलेको सरकारले गर्दा मात्र अहिलेको अवस्था आएको भन्ने प्रचण्डको भनाइको खण्डन गरेका छन्।

महामन्त्री थापाले सत्तामा आफू हुँदा ठिक र आफू नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुपर्ने बताए। उनले संविधान निर्माण गर्ने दलहरु नै संविधानमा रहेका व्यवस्थाका विषयमा विभाजित हुनु उचित नभएको धारणा राखे। उनले भने, ‘एकअर्कालाई दोष लगाउनुभन्दा पनि व्यवस्था बलियो बनाउनका लागि साझा धारणा बनाउनुपर्छ।’

समाचार वर्गहरू