काठमाडौं – नेपाली काँग्रेसमा संस्थापन इतर समुहका शेखर कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूले समानुपातिक उम्मेदवार सूची सच्याउन भन्दै बुधबार पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकालाई चुनावमा टिकट नदिने नीति लिएर एकलौटी रूपमा अघि बढेको आरोपलगाउँदै उनिहरुले आन्दोलनका कार्यक्रम गर्दै आएका छन्।
उक्त गुटको छलफल, भेला र बैठकले पार्टी भित्रको एकता, समान अवसर र न्यायको सुनिश्चितता नभए संघर्ष गर्ने निर्णय गरेको काँग्रेस नेता जगदिश्वर नरसिंह केसीले बताए। उनले भने, ‘हामी अहिले सिम्बोलिक आन्दोलनको चरणमा छौं। त्यसैले शान्त भएरै पार्टीभित्र अधिकार मागेका छौं। बिहीबार पनि अनुपम फुडल्यान्डमा छलफल राखेका छौं। हेरौं अवस्था कस्तो हुन्छ।’
इतर समूहले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन्। अर्कोतिर प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन्। हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरू मात्रै परेको उनीहरूले बताउँदै आएका छन्।
आन्दोलन गर्ने पक्षका एक नेताका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० जनामध्ये १३ जना इतर पक्ष र बाँकी संस्थापन पक्षका छन्। जसमध्ये केदारनरसिंह केसी, टेकबहादुर गुरुङ, डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, केशरमान रोका, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादवको नाम परेको छ।
समानुपातिकमा करिब १० प्रतिशत मात्रै उम्मेदवार बनाएपछि शेखर–गगन पक्षले संस्थापनलाई दबाब दिन पार्टी कार्यालय सानेपा, ठमेल, र बत्तीसपुतलीमा भेला गर्दै आएका छन्। शेखर समूहले अहिले ४० प्रतिशत उम्मेदवारी माग गर्दै आएको छ।
बुधबारको छलफलमा सभापति शेरबहादुर देउवाले समानुपातिक सूची संशोधन गर्न सकिने भने पनि उनीहरूले आन्दोलनका पूर्ववत कार्यक्रमलाई जारी राखेका हुन्।