काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय बाँडफाँटको तयारीलाई तीव्रता दिएका छन् । मन्त्रालय बाँडफाँटमा कुरा मिलेमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।
केही मन्त्रालयमा सबै दलको दाबी भएकोले कुन मन्त्रालय कुन दलले पाउने भन्ने निर्णय अझै भइनसकेको स्रोतले बतायो । पहिले कुन मन्त्रालय कुन पार्टीले पाउने भन्नेमा सहमति हुनासाथ मन्त्रीको शपथ तत्कालै भइहाल्ने स्रोतको दाबी छ ।
आजै बस्ने सत्ता गठबन्धनका नेताको बैठकले मन्त्रालयको भागबण्डा गर्न सकेमा बेलुकासम्ममा शपथ हुन सक्ने सम्भावना छ ।
कांग्रेसबाट नारायण खड्का, डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल, सुजाता कोइराला, उमाकान्त चौधरीलगायतका नेताको नाम चर्चामा छ ।
त्यस्तै सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले उपसभामुख पाउनुपर्ने अडान राखेको छ । उपसभामुखसहित ७ मन्त्रालयमा नेकपा (एस)को दाबी रहेको स्रोतले जानकारी दियो ।
नेकपा (एस) बाट शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, विरोध खतिवडा, किसान श्रेष्ठ, सरला यादवलगायतको नाम चर्चामा छ ।
माओवादी केन्द्रले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै मन्त्रीका विषयमा निर्णय गर्ने तयारी गरेको छ । यसअघि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।
त्यस्तै जनता समाजवादी पार्टीले पनि मन्त्रालय हेरेर उपेन्द्र यादवको नेतृत्वमा जाने कि राजेन्द्रप्रसाद श्रेष्ठको भन्ने विषयमा निर्णय गर्ने एक नेताले जानकारी दिए ।