काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा ठोस निर्णय आएको छैन। यस विषयमा सहमति हुन नसक्दा गठबन्धन दल नै कसरी चुनावमा होमिन्छन् भन्न सकिने अवस्था छैन।
गठबन्धनका शीर्ष नेताहरूबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा चुनावकै विषयमा छलफल गर्न बैठक बस्यो। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताबीच छलफल भएको छ।
निर्वाचनको आचारसंहिता समय लागू नहुँदै सरकारले सरकारी नियुक्ति र राजदूत नियुक्ति गर्नुपर्ने संवैधानिक अड्चन छ।
दाहाल र नेपालले निर्वाचनमा गठबन्धनबारे छिटो टुंगो लगाउनुपर्ने प्रधानमन्त्रीलाई दबाब दिएको बालुवाटार स्रोतले जनाएको छ। स्रोतका अनुसार ‘बैठकमा दाहालजीले ‘चुनावमा कसरी जाने हो ? समय घर्किंदैछ। छिटो तय गरौं। सबै स्थानमा सहकार्य गर्न सकियो भने सहज हुन्छ। हाम्रा पनि आफ्नै गढ छन्। यदि कांग्रेसले सहकार्य नगर्ने हो भने। हामी हाम्रो तरिकाले अघि बढ्छौं,’ भन्नुभयो। त्यसैगरी नेता नेपालले ‘एमालेका गढ भएका जिल्लामा समाजवादी सँगै जाउँ त्यसो गर्दा एमालेको गढ भत्काउन सकिन्छ। एक्लै हिँड्दा कांग्रेसलाई पनि धौधौ होला,’ भनेका थिए।
बैठकमा प्रधानमन्त्री देउवाको भनाई उध्रित गर्दै स्रोतले भन्यो, ‘दुवै शीर्ष नेताहरूको जिज्ञासामा प्रधानमन्त्री जीले पार्टीका साथीहरू सबै जिल्लातिर हुनुहुन्छ। ११ गते पार्टीको केन्द्रीय कमिटीको बैठक छ। साथीहरूको धारणा बुझेर मात्र निर्णय गर्छौं।’
बैठकमा निर्वाचनमा सहकार्य गर्न संयन्त्र समिति बनाउने विषयमा पनि छलफल भएको छ। प्रधानमन्त्री देउवाले भने कांग्रेसको कार्यसमितिबाट निर्णय आएपछि मात्र त्यतातिर लाग्ने दोहोर्याएपछि उक्त विषय अघि बढेन। बैठकमा निर्वाचनको आचारसंहिता समय लागू नहुँदै सरकारले सरकारी नियुक्ति र राजदूत नियुक्ति गर्नुपर्ने संवैधानिक अड्चन छ। त्यसैले पनि ती विषयमा सहजीकरण गरिदिन प्रधानमन्त्रीले दुवै शीर्ष नेतालाई आग्रह गरे।
स्थानीयको आवश्यकता बुझेर गठबन्धन
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसको जारी घरदैलो कार्यक्रमबाट आएको प्रतिवेदनका आधारमा गठबन्धनबारे पार्टीले स्थानीय आवश्यकता र औचित्यका आधारमा निर्णय लिने बताए। ‘पार्टीलाई गठबन्धनको रूपमै चुनावमा जाँदा राम्रो हुन्छ कि स्थानीय आवश्यकता हेरेर त्यस बाहिरका दलहरूबीच पनि तालमेल हुनसक्छ त्यो केन्द्रीय बैठकले निर्णय गर्छ।’ कांग्रेसका केही युवा र दोस्रो तहका नेताहरूले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान नहुने पक्षमा अभिव्यक्ति दिँदै आएका छन्।
सभापति देउवाले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनका दलहरूबबीच मिलेर जाने भूमिका आन्तरिक रूपमा बनाइसकेको कांग्रेसका एक नेताले भने, ‘अन्य स्थानीय हकमा भने आवश्यकताका आधारमा मात्रै तालमेल गर्ने र प्रदेश जिल्लालाई नै अधिकार दिइने तयारी प्रधानमन्त्रीको छ।’
माओवादी केन्द्रको बैठकले भने चुनावी गठबन्धनका लागि अन्य दलसँग संवाद गर्ने निर्णय गरिसकेको छ। माओवादीले सत्ताधारी गठबन्धनमै रहेका दलहरूबीच स्थानीय निकाय निर्वाचनमा तालमेललाई प्राथमिकतामा राखेको छ। कांग्रेसले चुनावी गठबन्धनबारे स्पष्ट निर्णय नलिँदा अलमल भएको सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीका नेताहरूको आरोप छ।
गठबन्धनका शीर्ष नेताको बैठकमा मंगलबार मन्त्रिपरिषद् हेरफेरको विषयमा पनि छलफल भएको थियो। त्यसो त प्रधानमन्त्री देउवा केही मन्त्रीको कार्यसम्पादनसँग असन्तुष्ट छन्।
माओवादी पार्टीका सचेतक देव गुरुङले माओवादी केन्द्र सकारात्मक निर्णयको अपेक्षामा रहेको बताए। तर, मधेस प्रदेशमा पकड राख्ने जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले गठबन्धनमा रहेका दलहरूबीच स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने आफ्नो दलको प्राथमिकता रहेको बताए। त्यस्तै, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आफ्नो दल सरकारमै रहेका दलहरूसँग गठबन्धन गर्ने पक्षमा रहेको बताइन्। अन्नपुर्णपोष्ट दैनिक बाट ।