काठमाडौं – राष्ट्रपति निर्वाचनले केन्द्रीय गठबन्धनमा फेरबदल भएपछि एमाले नेतृत्वमा रहेको प्रदेश १ सरकार धरापमा परेको छ ।
प्रदेश १ को अर्को सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सरकारबाट बाहिरिने भएपछि प्रदेश १ सरकार अल्पमतमा पर्ने भएको हो । सांसद अमर विष्टले दिएको जानकारी अनुसार राप्रपा प्रदेश सरकारबाट बाहिरिनेछ । तर, राप्रपाबाट मन्त्री रहेका भक्ति सिटौलाले भने आफूलाई केन्द्रबाट कुनै निर्देशन नआएको बताए । ‘अध्यक्षज्यूबाट अहिलेसम्म निर्देशन आएको छैन’, सिटौलाले भने ‘निर्देशन आयो भने हामी बाहिरिनेछौँ ।’
प्रदेश १ मा ६ जना प्रदेशसभा सदस्य भएको राप्रपा अहिले एउटा मन्त्रालयसहित सरकारमा छ ।
९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ । प्रदेशमा एमालेसँग ४०, माओवादीको सभामुखसहित १३, राप्रपाको ६ र जसपाको १ जनासहित एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकार बनेको थियो । दुई महिना पूरा नहुँदै कार्की नेतृत्वको सरकार सङ्कटमा पर्ने लक्षण देखिएको छ ।