गठबन्धनले महिला नेतृत्वको अवसर खुम्चियो – पूर्वराष्ट्रपति भण्डारी

84

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला नेतृत्वलाई पछाडि धकेल्ने प्रवृत्ति अझै कायमै रहेको बताएकी छन् । गठबन्धन राजनीतिले महिला नेतृत्वको अवसरलाई अझ खुम्च्याइरहेको उनको भनाइ थियो ।

शुक्रबार विराटनगरमा सुरु स्थानीय तह उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले राजनीतिक दलहरूले लोकतान्त्रिक मूल्य र समावेशिता जोगाउन महिला नेतृत्वलाई मजबुत रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन् । ‘गठबन्धन हुँदा प्राथमिक नेतृत्वका सिट पाउन महिलालाई सकस छ । यसले महिलाको सक्रियता र हैसियतमा असर परेको छ,’ उनले भनिन् ।

भण्डारीले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको भूमिका अझ प्रभावकारी बनाउन नीतिगत तथा कार्यगत पहल आवश्यक रहेको औंल्याइन् । उनले भनिन्, ‘महिला जनप्रतिनिधि सफल हुँदा स्थानीय तहहरू नै सफल हुने छ । संविधानले उप प्रमुखहरूलाई पूर्णकालिन कार्यकारीको अधिकार प्रदान गरेको छ।’

उनले मुलुकमा सुशासन र उत्तरदायित्वको खोजी भईरहेको भन्दै यो कार्य पुरा गर्न महिला जनप्रतिनिधिहरूले भूमिका खेल्नु पर्ने बताइन् ।भण्डारीले अहिलेको संविधानले महिलाको सहभागिता मात्रै हरेक तहमा नगराएर नेतृत्व को विकास समेत गराएको छ ।

कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै भण्डारीले आफू सक्रिय राजनीतिमा रहेको बताइन् । पार्टी नेतृत्वको सम्भावित भूमिकाबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘समय आएपछि थाहा भइहाल्छ नि ।’

समाचार वर्गहरू