गठबन्धन बैठक, दिउस सहमति राति विमति

12

काठमाडौं – सत्तारूढ गठबन्धन आबद्ध दलले ११ उपमहानगरका मेयर तथा उपमेयरको भागबण्डाको सहमती अन्तिम अवस्थामा आएर टुटेको छ ।

मंगलबार दिउँसो करिब सहमति जुटेको र यसलाई अन्तिम रुप दिन राति १० बजे बैठक बोलाइएको भनिएतापनि रातिको बैठक बिना निष्कर्ष टुङ्गीएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार दिउँसोको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन् ।तर रातिको बैठकमा पुगेका यादबले आफ्नो सहभागीबिना दिउँसो भएको सहमति इन्कार गरेपछि थप विवाद भएको हो ।

ति नेताका अनुसार मंगलबार दिउँसो कांग्रेसलाई ७, माओवादी केन्द्रलाई २ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक– एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गरिएको थियो ।

सहमतिअनुसार घोराही र जितपुर सिमरा उपमहानगर मेयर माओवादी केन्द्रको भागमा राखिएको थियो । हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा राखिने सहमति थियो । तर, जनकपुर र नेपालगन्जमा भने कांग्रेस र जसपाको अडान रहेपछि उपमहानगरमा सहमति जुट्न नसकेको हो ।

दिउँसोको सहमतिअनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढी मेयर नेपाली कांग्रेसको भागमा परेको थियो । जनकपुर जसपालाई दिने सहमति थियो । राति ती दुई उपमहानगरमै उपेन्द्रको अडान रहेपछी सहमति जुट्न नसकेपछि बैठकबाट नेताहरू उठेका हुन् ।

यसैगरी, उपमेयरतर्फ कांग्रेसले जनकपुर, हेटौंडा, जितपुर सिमरा र घोराही उपमहानगर उपमेयर लिने धरान उपमहानगरपालिका उपमेयर माओवादी केन्द्रलाई दिने सहमति मंगलबार दिउँसो भएको थियो ।

त्यस्तै, एकीकृत समाजवादीले इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिने तथा जसपाको भागमा कलैया उपमहानगरपालिका उपमेयर दिने सहमति थियो । नेपालगन्ज उपमेयर जसपा र धनगढी उपमेयर माओवादीले राख्ने सहमति थियो ।

सत्तारूढ गठबन्धन आबद्ध दलको बैठक बुधबार (आज) बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्दै छ ।

समाचार वर्गहरू