गण्डकीका निलम्बित सांसद देवकोटाको पद कायमै राख्न अदालतको आदेश

35

काठमाडौं सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एक इजलासले गण्डकी प्रदेश सभाका सभामुखको निर्णय तथा सूचना कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘गण्डकी प्रदेश सभाको सभामुखको निर्णय तथा सूचना कार्यान्वयन भएमा निवेदकले जनप्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्न नसक्ने भई अपूरणीय क्षति पुग्ने देखिँदा प्रस्तुत रिट निवेदनको टुङ्गो नलागेसम्म मिति २०८१–०२–३२ को सभामुखको निर्णय तथा सूचना कार्यान्वयन नगर्नू, नगराउनु तथा निवेदकलाई गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा कार्यरत रहन दिनू ।’

देवकोटाले असार ६ गते सर्वोच्चमा दायर गरेको रिटमा आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभामा वाचन गरेको पत्र खारेजीको माग गरेका थिए ।

जेठ २८ गते माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

त्यसपछि माओवादी केन्द्रले देवकोटालाई ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो । माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।

नेकपा (माओवादी केन्द्र) ले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेश सभा सदस्य देवकोटाले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू