गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

15

काठमाडौं – गण्डकी प्रेदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् ।

गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार सोमबार विश्वासको मत लिने भएका हुन्।

१४ जेठमा सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।

गण्डकीमा सरकार टिकाउन ३१ सांसदको समर्थन चाहिन्छ । तर, पाण्डेसँग कांग्रेसका २७ सांसदमा मात्र छन् ।

विश्वासको मत पाउन उनलाई थप चार सांसदको साथ चाहिन्छ । दुई सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा छ । राप्रपाले समर्थन गरिहाले पनि अझै दुई सांसदको अभाव रहन्छ ।

यसैबीच मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन अनुरोध गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेखेका छन् । गण्डकीमा विशेष परिस्थिति रहेको भन्दै देउवाले राप्रपासँग सहयोग मागेका छन् ।

पत्रमा देउवाले लेखेका छन्- ‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु ।’

स्वतन्त्र सांसद दीपक मनाङे (राजिव गुरुङ) पनि वर्तमान सरकारमा तत्काल नजाने बताइरहेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू