पोखरा – गण्डकी प्रदेशमा मंगलबार थप ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा १४ वर्षीय नाबालकसहित थप ३९ जना संक्रमित थपिएका हुन् ।
लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा दुई जना र बागलुङमा एक जना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमण पुष्टि भएका कास्कीको पोखरा महानगरपालिकाका-६ का १ जना संक्रमित चरक मेमोरियल अस्पतालमा उपचाररत छन् । अर्का एक जना महिला होम आईसोलेसनमा बसेका छन् ।
लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना, अस्पतालमै कार्यरत एक जना, ग्लोबल आइएमईमा कार्यरत ५ जना, नेपाल प्रहरीमा कार्यरत चार जना र बेसीसहर-७ का २८ बर्षीय एक जना महिला पत्रकार हुन् ।
अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाटबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २२०५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
