गण्डकीमा मन्त्रालय मिलाउनै सकस

11

पोखरा – गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तारमा सकस भएको छ । सरकारमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच विवाद चुलिँदै गएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो ।

सरकार गठनमा सहमति जनाएका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र सांसदबीच मन्त्रालय बाँडफाँटमा सहमति सहमति नजुटेकाले मन्त्रिपरिषद् विस्तार ढिलाइ भएको हो ।

आफूले रोजेको मन्त्रालय नपाए सरकारमा नजाने तीन दलले अडान लिएका छन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले भने गुण वा दोषका आधारमा सरकारको समर्थन वा विरोध गर्ने राजमोकी सचेतक पियारी थापा बताउँछिन् ।

यसअघि सरकार गठनका बेला कांग्रेस, माओवादीले ४/४, जसपाले २, १ स्वतन्त्र सांसदलाई लिएर जाने सहमति गठबन्धनमा भएको थियो । तर, अहिले कांग्रेस र माओवादीमै पनि किचलो छ । कांग्रेसले मुख्यमन्त्री साझा भएकाले मुख्यमन्त्रीबाहेक आफूहरूले पनि ४ मन्त्रालय राख्न पाउनुपर्ने माग गरेको छ ।

जसपा र कांग्रेसबीच अर्थ मन्त्रालय लिने विषयमा किचलो छ भने, अर्थ र भौतिक पूर्वाधारमध्ये एउटा मन्त्रालय नपाए माओवादी पनि सरकारमा नजाने सांसद दीपक कोइरालाले बताए । अर्थ विकास समितिका सभापति समेत रहेका कोइरालाले अर्थमा जसपा र कांग्रेसबीच सहमति भएकाले अर्थ मन्त्रालय माओवादीको भागमा नपर्ने बताए ।

समाचार वर्गहरू