काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियु्क्त भएका छन्। उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
माओवादीसमेतको समर्थन जुटाएर पाण्डेले बहुमत सांसदको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुख गुरूङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले ९ चैतको प्रदेशसभा बैठकमा विश्वासको मत पाउन सकेका थिएनन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्न सक्ने व्यवस्था बमोजिम अधिकारी मुख्यमन्त्री भएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले पनि फेरि सोही उपधारा बमोजिम माओवादीसमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् ।
अधिकारीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख गुरुङले १४ गते ४ बजेसम्मको म्याद दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका थिए ।
अब नवनियुक्त मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। गण्डकीमा कांग्रेसका २७,एमालेका २२,माओवादीका ८,राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।