पोखरा – गण्डकी प्रदेशमा शुक्रबार थप ४० जना कोरोना भाइरस कोभिड१९ को संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका विभिन्न ७ जिल्लामा गरी ४० जना संक्रमित थपिएका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ मा ४ जना, वडा नं. ५ मा ५ जना, वडा नं. ४ मा २ जना, वडा नं. २ मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीकै देवचुली वडा नं. ७ मा १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
कास्कीको पोखरा महानगरपालिकामा १६ जना संक्रमित फेला परेका छन् । पोखरा महानगरपालिकाको वडा नं. १५ मा कार्यरत ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी वडा नं. ७ का १ जना, वडा नं. १२ का १ जना, वडा नं. १० का ३ जना, वडा नं. २७ का २ जना तथा वडा नं. १४, ५ र ३० का १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
लम्जुङ जिल्लाको मध्यनेपाल–१ मा १ जना र राईनाश–९ मा २ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी स्याङ्जाको कालीगण्डकीका १ जना, बाग्लुङको ताराखोला–३ का एक जना र तनहुँको म्याग्देका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।