पोखरा – गण्डकी प्रदेशमा बिहीबार थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखराको क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका विभिन्न ६ जिल्लामा ४९ जना नयाँ संक्रमित थपिएका हुन् ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बिहीबार थपिएका संक्रमित मध्ये कास्कीका १९ जना, बागलुङका ९, तनहुँ ३, पर्वतमा एक जना, स्याङजामा १२ र नवलपरासीका ५ जना रहेका छन् ।
सबै जना संक्रमित कन्ट्याक्ट ट्रेसिङ्का आधारमा पहिचान भएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।