गाउँपालिका अध्यक्षको निर्देशनमा रातारात मजदुर खेदिए

20

रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका -५ ठुलो स्याब्रुमा पर्यटन मार्ग बनाइरहेका मजदुरहरु रातारात खेदिएका छन् । गाउँ पालिका अध्यक्ष काइसाङ नुर्बु तामाङकै निर्देशनमा उनिहरु खेदिएका हुन ।

सेमेसिदाङ्ग- लाङटाङ खण्डको लामा होटल घोडा तबेला क्षेत्रमा काम गरिरहेका मजदुर माथी आक्रमणको प्रयास भएको हो । उक्त पर्यटन मार्गमा सिन्धुपाल्चोकको हेलम्बु गाउँ पालिकाको विशेष पहलमा पर्यटन मन्त्रालयले बजेट बिनियोजन गरी काम अघि बढाएको हो ।

नेपाल सरकारको हिमाली पर्यटन मार्ग अन्तर्गतको उक्त मार्ग हेलम्बुको सेम्सिदाङ बाट लाङटाङ हुँदै गोसाइँकुण्ड जोड्न करिब ३ किमि मात्रै बाँकी रहेको अवस्थामा गोसाइँकुण्ड गाउँपालिकाले अवरोध गरेको हो । यो मार्ग जोडिएपछी रसुवाको स्याफ्रुबेसी, गोसाइँकुण्ड , लाङटाङ हुँदै सिन्धुपाल्चोकको हेलम्बु सम्म सहजै आवतजावत गर्न सकिन्छ ।

हेलम्बु-सेम्सिदाङ- लाङटाङ- गोसाइँकुण्ड पर्यटन पदमार्ग अन्तर्गतको रसुवाको ठुलो स्याब्रुमा काम गरिरहेका मजदुर हरु माथी गाउँपालिका अध्यक्षकै निर्देशनमा ६०-७० जना स्थानीय मादकपदार्थ सेवन गरि घरेलु हतियारसहित अवरोध गर्न आएपछि बाध्य भएर भाग्नुपरेको उक्त मार्गका पेटि ठेकेदार रमेश तामाङले बताए ।

उनले भने ” गाउँपालिका अध्यक्ष स्वयमले फोन गरि आज गाउँ नछाडे जे पनि हुनसक्ने भनेपछि हामिहरु बाध्यताले रातारात हिंड्नु पर्ने अवस्था आयो ।” “६० जना कामदार सहित काम गरिरहेको अवस्थामा ६०-७० जना मादक पदार्थ सेवन गरेर लाठी मुङ्गरि सहित आएर गाली गलोज र धाक धम्की देखाएपछि ज्यान जोगाउन टोलि सहित हिंडेका हौं ।”

यस हेलम्बु- लाङटाङ- गोसाइँकुण्ड क्षेत्रमा ठुलो मात्रामा कस्तुरी र रेड पाण्डा पाउने उक्त क्षेत्रमा अहिले बाटो बनिरहेको स्थान दुर्गम भएकोले कस्तुरीको तस्करी गर्न पल्केका हरुको यो धन्दा बन्द हुने डरले यो पर्यटन मार्ग निर्माणमा अवरुद्ध गरेको हुनसक्ने अनुमान छ । यस सन्दर्भमा गाउँपालिका अध्यक्ष सँग बुझ्न खोज्दा उनले स्थानीय तहसँग समन्वय नगरी मनोमानी ढंगले काम अगाडि बढाइएकोले आफू काम रोक्न बाध्य भएको बताए । सम्बन्धित निकाय सँग छलफल गरेर एउटा टुंगोमा पुगेर मात्रै काम अगाडि बढाउने उनले बताए ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नै खर्चमा बहुचर्चित हेलम्बु ग्रेट-टेल मर्मत गरेर समग्र पर्यटन क्षेत्रकै ध्यानाकर्षण गरेको वर्तमान सन्दर्भमा यो पर्यटन मार्ग रोकिनुलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ ।

रेड पाण्डा, कस्तुरी जस्ता महत्त्वपूर्ण पशुपंक्षी,चराचुरुङ्गी, जडिबुटी तथा मनोरम हिमशृङ्खला सहितको मनमोहक पर्यटन मार्ग बाट चोरी निकासी भएको समाचार हरु बाहिर आइरहेको बेला यो मार्ग रोकिनु रहस्यमय देखिन्छ ।

 

समाचार वर्गहरू