काठमाडौं – जनमत पार्टिका सांसद सतीशकुमार सिंह शुक्रबार मधेश प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका छन्। नेता सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
मधेश प्रदशको मुख्यमन्त्रीमा नियुक्त भएका सतीशकुमार सिंहका बाबु सांसद शेखरकुमार सिंहले छोरा मुख्यमन्त्रीमा नियुक्त हुनुलाई आफूले स्वाभाविक रूपमा लिएको बताएका छन्।
सतिशकुमार मुख्यमन्त्रीमा नियुक्त भएपछि सांसद सिंहले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सांसद भएपछि मुख्यमन्त्री हुुनु स्वाभाविकै हो।’
शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन्। बाबुछोराको दल भने भिन्न छ। २०७६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आबद्ध छन्।
लोसपा संघ र प्रदेश दुवै सरकारमा प्रतिपक्षमा भूमिकामा छ। राष्ट्रियसभा सांसद शेखरकुमारले आफूहरूको परिवारिक पृष्ठभूमि राजनीति रहेको बताए।
उनले मुख्यमन्त्रीमा नियुक्त भएका सतिशकुमार परिवारका आठौँ सांसद भएको बताउँदै भने, ‘सतिश परिवारको आठौँ सांसद हो। बाबुछोरालाई नै लेख्या रहेछ त म के गरुँ? मेरो अपराध हैन क्यारे!’
राजनीतिमा होमिएको छोटो समयमै मधेशको मुख्यमन्त्रीसम्मको यात्रा तय गर्न पाइला भनेर उनी आफैँले सोचेका थिएनन्।
सिंह २०७९ सालको स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीबाट चुनाव उठ्दा हारेका सिंहलाई जनमत पार्टी प्रवेश गरेपछि सफलता मिल्यो।
विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय सिंह स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राजपाबाट सोही गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि उनी लोसपामा प्रवेश गरे।
२०७९ को स्थानीय तहको चुनाव उनी सोही पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनाव लडे। दोस्रोपटक पालिका प्रमुख हुने उनको योजनामा बाधक बने नेपाली कांग्रेसका अरुणकुमार मण्डल। मण्डल ५,४५७ मतसहित पालिका प्रमुखमा निर्वाचित हुँदा सिंहले ३,५७५ मतमा चित्त बुझाउनुपरेको थियो।
स्थानीय तहको चुनाव हारेपछि लोसपाबाट प्रदेशसभामा टिकट पाउने सम्भावना थिएन। त्यसैले उनले रोजे जनमत पार्टी। जनमतले उनलाई प्रदेशसभा निर्वाचनमा उनी सप्तरी क्षेत्र नं. २ (क) बाट उम्मेदवार बनायो। विपक्षी उम्मेदवारभन्दा झन्डै दोब्बर मतले सिंह निर्वाचित भए।