काठमाडौं । नेपालीमूलका बलिउड गायक उदित नारायण र कान्छी पत्नी दीपा नारायणले आफ्नो गर्भाशय निकालेको भन्दै उनीहरुविरुद्ध जेठी पत्नी रञ्जना झाले विहार प्रहरीमा मंगलबार उजुरी दर्ज गरेकी छन् । भारतीय न्यूजपोर्टल अमरउजालाको फेब्रुअरी १०, अपराह्न ०७ः१२ मा प्रकाशित समाचारअनुसार रञ्जनाले सन् १९९६ मा आपराधिक षड्यन्त्रसहित गर्भाशय निकालेको आरोप लगाएकी छन् ।
भारतको विहारस्थित सुपौल जिल्लाको महिला थानामा रञ्जनाले उजुरी दिएकी हुन् । सन् १९८४ डिसेम्बर ७ मा उदितनारायण झासँग आफ्नो विवाह भएको रञ्जनाले उजुरीमा दावी गरेकी छन् । विवाह भएको एक वर्षपछि, अर्थात् सन् १९८५ मा उनी भारत गएको उजुरीमा उल्लेख छ । झा सप्तरीको कञ्चनरुप नगरपालिका, भारदहका नागरिक हुन् ।
उनले सप्तरी जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । सोही आधारमा उनले रेडियो नेपालमा केही वर्ष जागिर खाएका थिए । त्यहीँबाट भारतीय दूतावासको छात्रवृत्तिमा संगीत विषयको अध्ययनका लागि भारत गएका थिए । भारतमा बस्न थालेपछि गायिका दीपा गहतराजसँग दोस्रो विवाह गरेको दावी रञ्जनाले गरेकी छन् ।
महिला थानामा अधिवक्ता करुणाकान्त झाका साथमा पुगेर उनले उजुरी दिएकी हुन् । उनको माइती सुपौल जिल्ला, बलुआ बजार थाना अन्तर्गत संस्कृत निर्मली वार्ड नम्बर ११ मा हो । उनी त्यहाँका बासिन्दा चन्द्रकान्त झाकी ६१ वर्षीया छोरी हुन् । उजुरीमा उदित नारायणका भाइहरु सञ्जयकुमार झा, ललितनारायण झालाई पनि प्रतिवादी बनाइएको अमरउजालाले जनाएको छ ।
सन् १९९६ मा उदितका भाइ ललितले उपचारका लागि दिल्ली लगेर एक अस्पतालमा बिना जानकारी गर्भाशय निकालेको उजुरीमा उल्लेख छ । सन् २००६ मा उदितलाई भेट्न दिल्ली जाँदा उनलाई अपमानपूर्वक त्यहाँबाट लखेटिएको रञ्जनाले अमर उजालालाई बताएकी छन् । रञ्जनाले पहिल्यै भारतीय महिला आयोगमा उदितविरुद्ध उजुरी दिएकी थिइन् ।
त्यसबेला उदितले रञ्जनालाई पहिलो पत्नी स्वीकार गरेका थिए । तर, त्यसअनुसार कुनै सम्मान र सुविधा नपाएको भनेकी छन् । प्रहरीले रञ्जनाको उजुरीमाथि छानविन गर्ने भएको छ । महिला थानाध्यक्ष अञ्जु तिवारीले घटना ३० वर्ष पुरानो भएको भन्दै पुराना कुराहरुको पनि छानविन गर्दै प्राप्त तथ्यका आधारमा आवश्यक कारवाही हुनेछ ।