काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत रहेको बताएका छन्।
जीपी कोइराला मेमोरियल सामुदायिक कलेजको १२औं वार्षिकोत्सव तथा गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले पहिलो पटक भेटदेखि अन्तिम भेट हुँदासम्म कुनै द्विधा, अविश्वास, आशङ्का या आशङ्का नदेखेको भन्दै बरु आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताए । ‘बरु मैले गल्ती गरेँ, उहाँले विल्कुल गल्ती गर्नुभएन’, दाहालले शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै भने, ‘मैले बरु उहाँसँग लिएका प्रतिबद्धता सबै जस्ताको तस्तै मैले पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’ उनले कोइरालाको चाहानाविपरीत कतिपय निर्णय गर्दा पनि विश्वास गर्न नछोडेको भन्दै गणतन्त्र कोइराला नभएको भए आउन नसक्ने पनि बताए ।
प्रधानमन्त्री दाहालले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पश्चाताप रहेको पनि दोहोर्याए। ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो’, दाहालको भनाइ छ ।