गिरीबन्धुमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्छु – प्रचण्ड

91

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टि-इस्टेट प्रकरणको फाइल खोलेरै छाड्ने दोहोर्‍याएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा आयोजित माओवादीको खबरदारीसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको सुई कांग्रेस र एमालेको हेडक्वार्टरतिर सोझिएपछि आफूलाई सरकारबाट हटाएको दाबी गरे ।

उनले प्रधानमन्त्री ओलीको दिमागमा जालझेलबाहेक अरु केही नभएको आरोप लगाए । प्रचण्डले भने, ‘उहाँले जालझेल नै गरिराख्नुहुन्छ, तर गिरीबन्धु टि-इस्टेटमा उहाँले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्छु । गिरीबन्धु ओम्नी, वाइड बडीको फाइल खोल्छु । मलाई अलोकतान्त्रिक शैलीमा हटाइयो । मेरो सुई गिरीबन्धुतिर जाँदै थियो । त्यहाँ जानु भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो, तपाईंहरुले ढुक्कसँग बुझे हुन्छ । सत्य कुरा त्यही हो । यो भ्रष्टाचारीलाई जोगाउन बनेको सरकार हो । यसले जनताको पक्षमा काम गर्नै सक्दैन ।

उनले भ्रष्टाचारी र दलाललाई बचाउनका लागि आफू नेतृत्वको सरकारलाई निरंकुश र अलोकतान्त्रिक ढंगले हटाएको बताए ।

‘मैले तेस्रोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारी, दलालको भण्डाफोर गर्न थालेँ । सुशासनका पक्षमा काम गर्न थालेँ । पक्राउ परेकाको बयानले भ्रष्टाचारको सुई एमाले र कांग्रेसतिर सोझियो । राजनीतिक दलका नेतासमेत दायरामा आउने भए,’ उनले भने, ‘भ्रष्टाचार, दलाली, भूमाफियाको विरुद्धमा अभियान चलाएँ । जनताको हितमा काम गर्दा खैलाबैला मच्यायो । निरंकुश र अलोकतान्त्रिक ढंगले सरकारबाट हटाइयो ।’

उनले संसद्का पहिलो र दोस्रो राजनीतिक दल मिलेर सरकार बनाउनु लोकतान्त्रिक अभ्यासविरुद्ध भएको दाबी गरे । ‘संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने भन्ने कुरा लोकतन्त्रमा हुँदैन । लोकतन्त्रविरोधी कुरा हो,’ उनले भने, ‘असंवैधानिक जालझेल र अप्राकृतिक ढंगले सरकार बनाइयो । यो सरकारले जनताको पक्षमा हाेइन, भ्रष्टाचारी, दलाल र बिचौलियाको पक्षमा काम गर्छ ।’

उनले माओवादी परिवर्तनको संवाहक भएकाले आगामी दिनमा सुशासनको पक्षमा काम गर्दै देशमा आर्थिक समृद्धि र विकास ल्याउने बताए । अध्यक्ष प्रचण्डले ०८४ लाई ०६४ को अवस्थामा फर्काउँदै माओवादीलाई पहिलो पार्टी बनाएमा जनमतको तागतमा भ्रष्टाचारलाई जरैबाट उखेल्ने दाबी गरे ।

समाचार वर्गहरू