काठमाडौं – भिजिट भिसाका नाममा ठगिएका पीडितहरूले गृहमन्त्री लेखकमाथि समेत छानबिनको माग राखेर अख्तियारमा उजुरी दिएका छन् । त्यसो त गृहमन्त्रीलाई निलम्बन गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय र संसद् सचिवालयमा दुई साताअघि नै उजुरी परेको थियो ।
युरोपेली मुलुक ग्रिस पठाइदिने भनेर आफूहरूसँग नौदेखि दश लाखसम्म उठाएर ठगी गरेको भन्दै गोरखाका मनोज गुरुङसहित अर्का मनोज गुरुङ र श्रीमान गुरुङले मंगलबार अख्तियारमा उजुरी दिएका हुन् । यस्तो ठगीमा दलाल मात्रै नभई गृहमन्त्रीसम्म नै सेटिङ हुने गरेको विषयमा समाचारहरू आएकाले गृहमन्त्रीमाथि समेत छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
‘…राजेश बराम भन्ने व्यक्तिले हामीलगायत अन्य व्यक्तिहरूलाई भिजिट भिसामा अल्बानिया हुँदै ग्रिस लगिदिन्छु भनी आश्वासन दिएर नौदेखि दश लाखसम्म रकम लिएकाले यस्तो गम्भीर विषयमा सामान्य बिचौलियाको मात्र हात नरहेर गृह मन्त्रालयकै संलग्नता भएको भनी पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा खबर आएका कारण गृहमन्त्रीमाथि पनि छानबिन गरी दोषीउपर कारबाही गराइपाऊँ,’ उनीहरूले अख्तियारमा गरेको उजुरीमा उल्लेख छ ।
पीडित मनोजले दलाल राजेश बराम चिनजानकै व्यक्ति भएको र उसले आफ्नो अध्यागमनदेखि माथिसम्मै सेटिङ भएकाले सजिलै उडाइदिने भनेर पैसा उठाएको बताए । त्यसरी ग्रिस जान पैसा बुझाउने आफ्नो टिममा ६ जना रहेको मनोजको भनाइ छ । एकजनाको दश लाख र दुईजनाको नौ–नौ लाख फसेको उनीहरूको उजुरीमा उल्लेख छ ।
‘भिजिट भिसामा ग्रिस लान्छु भनेर मसहित ६ जनासँग राजेश बराम (दलाल)ले रकम लिएको थियो । कसैबाट नौ लाख, कसैबाट दश लाखको दरमा उठाएको थियो । हामीले उसलाई बैंकमार्फत नगदै बुझाएका हौँ । तर, लामो समयसम्म पनि उसले हामीलाई उडाएन, पैसा पनि फिर्ता दिएको छैन, हामी पीडित छौँ,’ उनले भने, ‘भिजिट भिसाका नाममा सेटिङमै यति ठुलो धन्दा हुने रहेछ भन्ने अहिले आएर थाहा पाएका छौँ । अध्यागमन र गृह मन्त्रालयसम्मै सेटिङ रहेछ । हामीले त बरामलाई नै एकमुस्ट पैसा बुझाएका थियौँ । कताकता मिलाउने, उसैले मिलायो होला । यसमाथि छानबिन होस् । गृहमन्त्रीसम्मै छानबिन गरेर दोषीमाथि कारबाही होस् । हामीजस्ता सबै पीडितलाई न्याय दिलाइयोस् ।’
दलालले आफूहरूलाई युरोप लैजाने आश्वासन देखाएर सुरुमा सन् २०२३ मा चार–चार लाख लिएको पीडितहरूले बताएका छन् । पहिलोपटक पोल्यान्डका लागि ‘अप्लाई’ गराए पनि सफल नभएपछि पैसा फिर्ता माग्दा अन्य देश लैजाने आस देखाउँदै थप असुलेको उनीहरूको गुनासो छ ।
‘युरोपका कुनै देश बाँकी छैन होला, जहाँ दलालले हामीलाई लैजाने भनेर आश्वासन दियो । कहिले कहाँ, कहिले कहाँ लैजाने भन्दै आस देखायो । अल्बानिया हुँदै ग्रिस लैजाने भनेको सबैभन्दा पछिल्लो हो,’ मनोजले भने । पीडितहरूका अनुसार ग्रिस उडाउने भनिएको दिन दलाल सम्पर्कविहीन भएका थिए । उडाउनुअघि उसले अध्यागमनदेखि सबैतिर सेटिङ भएकाले मिलाएर छिराउने आश्वासन दिएको उनीहरूले बताए । ‘तिमीहरूले केही गर्नुपर्दैन, सबै हाम्रो मान्छे छ भनेको थियो । तर, उड्ने भनेको दिन ऊ आफैँ सम्पर्कविहीन भयो,’ अर्का एक पीडितले भने ।
पीडितहरू मंगलबार अख्तियारको गेटमा पुगेर रोइकराइ गरेपछि उजुरी लिइएको थियो । त्यसपछि अख्तियारले थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई समेत पत्राचार गरेको छ । भिजिट भिसा प्रकरणमा सिआइबीले यसअघिदेखि नै अनुसन्धानमा सघाउँदै आएको छ । भिजिट भिसामार्फत मानवतस्करी भएको र त्यसमा नक्कली कागजपत्र बनाइएको घटनाको प्रहरीबाट अनुसन्धान भइरहेको छ । कतिसम्म भने नो अब्जेक्सन लेटर (एनओसी)समेत नक्कली बनाएर अध्यागमनबाट सेटिङ भएको खुलिसकेको छ । पछिल्लो समय प्रहरीमा पनि भिजिट भिसामार्फत हुने मानवतस्करी तथा ठगीका उजुरी बढेका छन् । यसरी सेटिङमा गएकाहरू कुवेतदेखि इराकसम्म पुगेर बेचिएका छन् । उनीहरूको उद्धारका लागि हारगुहार भइरहेको छ । नयाँपत्रिका बाट