गैरआवासीय नेपाली संघको नव निर्वाचित कमिटीलाई राष्ट्रपतिको बधाई

78

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले गैर आवासीय नेपाली संघ एनआरएनएको नव निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।

राष्ट्रपति पौडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र हाल देखिएको समस्या र विवाद समाधानमा अग्रसरता लिन संघको नेतृत्वलाई आग्रह गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।

सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट महेश श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । शीतल निवासमा भएको भेटमा अध्यक्ष श्रेष्ठले संघको निर्वाचनबारे जानकारी गराएका थिए ।

गैर आवासीय नेपालीहरूलाई एक ढिक्का पार्न बाँकी रहेका विवाद समाधान गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले अपेक्षा व्यक्त गरेको र संघले विश्वभर रहेका सम्पूर्ण नेपालीलाई पुनः एकत्रित गर्न नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेको अध्यक्ष महेश श्रेष्ठले बताए ।

उनका अनुसार राष्ट्रपतिले नेपाली जहाँ बसे पनि नेपाली नै भएको उल्लेख गर्दै आत्मीयताको भावना र राष्ट्रिय एकताको जग बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

आइतबार भएको अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समाचार वर्गहरू