(काठमाडौं) – गैरकानूनी रुपमा पत्थरको ओसारपसार गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको पनौतीबाट ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका-४ घर भई पनौती नगरपालिका ४ बस्ने ६२ वर्षीय नवराज खड्का, झापाकोको गौरदह नगरपालिका १ का ३८ वर्षीय हरि खापुङ, झापाको सताक्षीधाम नगरपालिका ४ का ३७ वर्षीय यमकुमार गिरी, मोरङको बुढीगंगा गाउँपालिका ५ का २५ वर्षीय लोकबहादुर सार्की र रौतहटको चन्द्रपुर नगरपालिका १ का ३३ वर्षीय भिमबहादुर तामाङ रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले रङकामोज नाईट, काईनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड, एलबी डायमण्ड, फेन्सि डायमण्ड, पुष्पराज, निलम, लसुनिया, रुबी समेत गरी ५ हजार ६२ क्यारेट र पहेलो धातुमा जडित औंठी ९ ग्राम बरामद गरेको छ ।
काभ्रेपलान्चोक जिल्लाको पनौती क्षेत्रमा बस्ने नवराज खड्का लगायतका व्यक्तिहरुले एक लाखको बिभिन्न पत्थरहरु गैरकानूनीरुपमा ओसारपसार गरी करोडौं मूल्य पर्ने भनि झुक्याइ कारोबार गर्न लागेको भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।