काठमाडौं – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँग देशलाई फाइदा हुने गरी सम्झौता गरिएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका विषयमा बोल्दै पोखरेलले प्रचलित ऐनभित्र रहेर नै सम्झौता गरिएको जिकिर गरे ।
रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको उनले संसदमा जानकारी गराए । पुरानै सम्झौताअनुसार बाँकी पाँच वर्षको अवधिमा थप रु चार करोड ८३ हजार रकम आउने र यसबाट अप्रत्यक्ष लाभका रोजगारी सिर्जना हुने उनको बुझाइ छ ।
कौडीको भाउमा जग्गा लिजमा दिएको आरोपको खण्डन गर्दै मन्त्री पोखरेलले नेपाल चार्डड एकाउन्टेन्टलाई फेयर बजार मूल्य निर्धारण गर्न लगाएर भाडा निर्धारण गरेको जानकारी दिए । उनले पर्यटन बोर्ड, होटल एशोसियसन र गोकर्णेश्वर नगरपालिकासमेतको रायका आधारमा भाडादर निर्धारण गरिएको बताए ।
पूर्वमा धनकुटादेखि पश्चिममा सुर्खेतसम्म ट्रष्टको नाममा रहेको सबै चल अचल सम्पत्तीको एकिकृत विवरण संकलन गरी केही दिनभित्र श्वेत पत्र जारी गर्ने मन्त्री पोखरेलले बताए ।