गोलाप्रथाबाट छानिए इजरायल जाने नेपाली कामदार

146

काठमाडौं –  इजरायलमा केयरगिभर क्षेत्रमा काम गर्न जाने नेपाली सहायक कामदारहरूलाई बिहीबार गोलाप्रथाबाट छनोट गरिएको छ।

इजरायलको जेरुसेलमस्थित पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीबा)को कार्यालयमा सम्पन्न गोलाप्रथा कम्प्युटरको प्रयोगमार्फत् गरिएको हो। धेरै जना भएकाले समय बचाउन कम्प्युटरबाट छनोट गरिएको पीबाले जनाएको छ।

इजरायलका अध्यागमन निर्देशक मोशे नकासलगायत पीबाका प्रमुख अधिकारीहरूको उपस्थितिमा सम्पन्न उक्त गोलाप्रथा प्रक्रियाबाट २ हजार २ सय उम्मेदवार चयन भएका छन्। यसका लागि ४ हजार २४ जनाले निवेदन दिएका थिए। ३ सय २१ जना मापदण्डमै परेनन् भने २ सय ४२ जना इजरायल पुगेर फर्केका थिए।

बाँकी ३ हजार ४ सय ६१ बाट २२ सय जना चयन भएका हुन्। तीमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहेको पिबाका अधिकारीहरूले बताए।

काठमाडौंस्थित इजरायली दूतावासमा उक्त छनोट प्रक्रियाको भिडियो कन्फ्ररेन्समार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। इजरायली राजदूत खनान गोदरले सहजीकरण गरेको उक्त प्रत्यक्ष प्रसारणमा नेपालको परराष्ट्र मन्त्रालयका प्रतिनिधि तारा भट्टराईको उपस्थिति थियो। साथै मिडियाकर्मीहरूको पनि सहभागिता थियो।

वैदेशिक रोजगार विभागले गत साउन २१ गते एक हजार ५ सय ९८ महिला र एक हजार ८ सय ६३ जना पुरुष गरी ३ हजार ४ सय ६१ जनाको नाम छनोट गरी पीबालाई पठाएको थियो। आवेदन दिएकामध्ये २ सय ४२ जनाको कागजात नपुगेको कारण र ३ सय २१ जनाको अन्य कारणले आवेदन रद्द भएको थियो।

समाचार वर्गहरू