(काठमाडौं) – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र कतार फण्ड फर डेभलोपमेण्टको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएकाे छ ।
सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालको ऊर्जा, सौर्य ऊर्जा र जलविद्युतको क्षेत्रमा लगानीको सम्भावना तथा दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा कतारी विदेशमन्त्रीका अन्तर्राष्ट्रिय विकास मामिला हेर्ने सल्लाहकार समिर आर फ्रेङगीले नेपालको विकासमा सहयोग गर्न कतार इच्छुक रहेको बताएका थिए ।
कतारले नेपालको ऊर्जा, पयर्टन र कृषिको क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको भन्दै लगानीका क्षेत्रहरुबारे चांसो राखेका थिए । साथै ऊर्जा क्षेत्रमा समेत आफूहरु लगानी गर्न तयार रहेको उनले बताए ।
ऊर्जा मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरे । सरकारले ऊर्जाको क्षेत्रमा उदार नीति लिएको र वैदेशिक लगानीको क्षेत्रमा समेत शतप्रतिशत प्रत्यक्ष लगानी गर्न सक्ने प्रावधान रहेको भन्दै लगानीका लागि आग्रह गरे ।
उनले भने, ‘सरकारले जलविद्युतमा उदार नीति अवलम्वन गरेको छ, पहिलो १० वर्षमा ८० प्रतिशत आयकर छुट र दोस्रो वर्ष ५० प्रतिशत छुट दिने नीति हामीले लिएका छौं, नेपालमा स्थायी सरकार भएकाले लगानीका लागी समेत उपयुक्त वातावरण छ ।’
सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त योजनालाई सफल पार्न कतारको समेत सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
हाल ८० प्रतिशत जनतामा विद्युतको पहुँच पुर्याइसकेको भन्दै ऊर्जा मन्त्री पुनले सरकारले तीन वर्षभित्र देशभर विद्युतीकरण गर्ने योजना अघि सारेको भन्दै कतार सरकारसँग ग्रामीण विद्युतीकरणको क्षेत्रमा समेत सहकार्य गर्न सकिने प्रस्ताव गरेका थिए ।
नेपालमा उत्पादित बिजुली सरकारले खरिदको ग्यारेण्टी गर्ने व्यवस्था गरेको भन्दै मन्त्री पुनले देश बाहिर समेत भारत र बङगलादेश पनि क्षेत्रीय बजारका रुपमा रहेको जानकारी दिए ।