ग्रीसमा पहिलो महिला राष्ट्रपति

21

रासस – वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति बन्ने पक्का भएको छ । राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरीसकेकी छन् । ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको जानकारहरुको भनाई छ ।

“ग्रीसको खुलापन र भविष्यका लागि यो शुभ सङ्केत हो,” प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताए । उनले साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै बुधबारको संसद बैठकमा पेश गरेका छन् ।

चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत (काउन्सिल अफ स्टेट)को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहेकी छिन् । यो पद सम्हाल्ने उनी पहिलो महिला पनि हुन् ।

हाल ग्रीसमा प्रोकोपिस पाभ्लोपोलोस राष्ट्रपति छन् र उनको पाँच वर्षको कार्यकाल आगामी मार्चमा समाप्त हुँदैछ । ग्रीसमा राष्ट्रपतिको चयन संसदले गर्दछ । साकेल्लारापोलोउले बुधबार हुने मतदानमा २६० भन्दा बढी मत प्राप्त गर्नेछिन । मुख्य विपक्षी दलहरूको पनि समर्थन भएका कारण उनको विजय सुनिश्चित भएको हो ।

समाचार वर्गहरू