मुस्लिम समुदायले शुभकामना साटासाट गरी ईद मनाउँदै

26

(काठमाडौं) – रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गरिन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीन दुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी) ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।

ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । मस्जिद, ईदगाह लगायत धार्मिकस्थलमा पाँच जना भन्दा बढी उपस्थित नहुने भएकाले घरमै परिवारका सदस्य बीच नमाज पाठ गरेर ईद उल फित्र मनाइँदैछ । यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान गरेको छ ।

ईद उल फित्रको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगाायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

समाचार वर्गहरू