घर-घरमा नक्सा पुर्याउँदै हिँडेपछी मन्त्री अर्यालको चौतर्फी आलोचना

21

(काठमाडौं) – सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा जारी गरेपछि त्यसको चौतर्फी स्वागत भयो । नेपालको भूमिमा सडक नै निर्माण गरी उदघाटन गरेपछि सरकारले पनि आफ्नो भूभागको नक्सा जारी गर्यो । जुन नक्सा सार्वजनिक गर्ने कामले केपी ओली सरकारको उचाई बढाउने काम गरेको छ ।

राष्ट्रियताको पक्षमा सरकारले देखाएको अडानको सर्बत्र प्रशंसा भइरहेकोबेला ओली सरकारकै भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले घर घरमा नक्सा पुर्याउन लगी सरकारलाई बदनाम गराउने काम गरेकी छन् । राष्ट्रपति, उपराष्ट्रपतिसम्मलाई नक्सा दिनुलाई स्वभाविक मानिए पनि हरेक नेताको घर घरमा सचिव र महानिर्देशकलाई पछि लगाएर लावालस्कर सहित नक्सा लिएर जाने कामले मन्त्री अर्यालको चौतर्फी आलोचना भएको छ ।

कोरोना महामारीका बेला मन्त्री अर्याल लकडाउन उल्लंघन गर्दै नक्सा पुर्याउन नेताका घर घरमा लावालस्कर लिएर हिंडेपछी सामाजिक संजालमा चर्को आलोचना भएको छ । कुनै नेतालाई नक्सा चाहिए सचिवालयका कर्मचारी मार्फत पठाउन सक्थिन तर मन्त्री अर्याल आफैं घर घरमा जाने र पत्रकारहरुलाई बोलाएर मिडियामा छाउन खोज्दा विवादमा परेकी हुन ।

मन्त्री अर्यालले नक्सा नेताका घर घरमा पुर्याएर चाकरीको भद्दा नमूना पेश गरेको आरोप उनलाई छ ।  सम्बन्धित नेताहरु नै लज्जित हुने परिस्थिति निर्माण मन्त्री अर्यालले सृजना गरेको सर्वत्र चर्चा चलेको छ । मन्त्री अर्यालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतका निवास र घरमा नक्सा पुर्याउन गएकी थिइन् ।

मन्त्रीको यस्तो सस्तो लोकप्रियता हासिल गर्ने कार्यको सामाजिक संजालमा राप्रपाका अध्यक्ष कमल थापादेखि पत्रकारहरुले समेत बिरोध गरेका छन् । थापाले लिपुलेक र कालापानी समावेश भएको नक्सा नेताहरुको घरघरमा र्पुयाउँदै हिँड्ने ‘सस्तो लोकप्रियतावादी’ काम छोडन आग्रह गरेका छन् ।

पत्रकारहरु भुवन शर्मा, चिरन्जीवी पौडेल,अनिल गिरीसम्मले मन्त्री पदकै गरिमा कायम राख्न नसकी घर घरमा धाएकोमा सामाजिक संजालमा आलोचना गरेका छन् । पत्रकार भुवन शर्माले लेखेका छन्–‘घर घरमै गई नेताहरुलाई नक्सा बुझाउनु भन्दा सोझै भारतीय दूतावासलाई एक थान नक्सा बुझाएको भए हु्न्थ्यो कि ?’

यसअघि मन्त्री अर्याल ऋषि धमलाको एनआरएन रेडियोमा बोल्दा लिम्पियाधुरा नेपालको नक्सामा नभएको भनेपछि विवादमा परेकी थिइन् ।

 

समाचार वर्गहरू