(ओखलढुङ्गा) – ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलमा सोमबार तारा एयरको विमानमार्फत परीक्षण उडान गरेको छ । काम सुुरु भएको १३ वर्षपछि बल्ल विमानस्थलको रनवेमा ग्राभेलको काम सकेर परीक्षण उडान गरिएको हो ।
आर्थिक वर्ष २०६३/६४ मा विमानस्थल निर्माणका लागि जग्गाको व्यवस्था गरिएको थियो । आर्थिक वर्ष २०६९/७० बाट विमानस्थलको जग्गा सम्याउने काम सुरु भएको थियो ।
विमानस्थलमा ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन र अस्थायी टावरघरको निर्माण सम्पन्न भएपछि उडान गरिएको आयोजना प्रमुख एवम् नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले बताए ।
विमानस्थलमा ग्राभेल लगायतको काम एक वर्षमा सम्पन्न गर्नेगरी २०७३ फागुन २४ गते गाल्भा–निसान–पूर्णिमा जेभीले ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्धारित समयमा काम नसकेपछि थप गरिएको म्याद पनि गत असोज १५ गते सकिएको छ ।
केही दिनअघि मात्र ठेकेदार कम्पनीले विमानस्थलको ग्राभेल लगायतको काम सकेको हो । ग्राभेल, माटो कटिङ, फिलिङ, ड्रेन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणबाट भ्याटसहित दुई करोड पाँच लाख ३३ हजार ७४० रुपैयाँमा ठेक्का लागेको थियो । ५८० मिटर लम्बाइ र चौडाइ विमानस्थलको रनवे ग्राभेल गरिएको छ ।
कुल ६५० मिटर लम्बाइ भएको विमानस्थलमा दुईवटा ट्विनअटर विमान पार्किङ गर्न सकिनेछ । रनवेको काम सकिए पनि विमानस्थलमा यात्रु प्रतीक्षालय, सुरक्षा पोष्ट लगायतका अन्य संरचनाहरु अझै बन्न बाँकी छन् । पहिरो रोक्न वाल, रनवेको थप स्तरोन्नतिको काम पनि बाँकी छ ।
चण्डेश्वरी विमानस्थलको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ओखलढुङ्गाको रुम्जाटार र चण्डेश्वरी दुवै विमानस्थलमा नियमित उडान गर्न पहल गरिने बताए ।
यस्तै, नेपाली कांग्रेसका पूर्वसांसद रामहरि खतिवडाले आफ्नो पार्टीका ठेकेदार भएकै कारण आलोचना बढेपछि आफैँले पहल गरेर विमानस्थल निर्माणको काम सक्न दबाब दिएको बताए ।
चण्डेश्वरी विमानस्थलमा नियमित उडान गर्न सुझाव समेत दिए । सरकारका मन्त्री र सांसदहरु चर्चा कमाउने काममा मात्रै लागिपरेको भन्दै खतिवडाले जनताले महसुस गर्ने गरी काम गर्न आग्रह गरे ।