काठमाडौं – काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुगमनको प्रक्रिया निरन्तर रुपमा चलिरहने प्रक्रिया भएको बताएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा चाडपर्वको बेला सबै क्षेत्रमा चाप बढ्ने भएको हुनाले विशेष रुपले अनुगमन गर्नुपरेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘अनुगमन सूक्ष्म रुपले हुन्छ ।’ हुल बाँधेर जाने शैलीको अनुगमन प्रभावकारी नभएकाले आफ्नै आफ्नै शैलीमा भोलि देखि नै एक्सनमा उत्रिन सबै सरोकारवाला निकायलाई उनले आग्रह गरे ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेद्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको बताएका छन् । महानिर्देशक गौचनले चालू आर्थिक वर्षमा मात्र एक हजार फर्ममा अनुगमन गरेका बताउँदै त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएको जसमध्ये १६० फर्मलाई जरिवाना समेत गराएको बताए ।
उनले भने, ‘चाडपर्वको मौका छोपेर कुनै कालाबजारी गरे कडा कारबाही हुन्छ, कुनै पनि बहानाबाजी चल्दैन ।’ विभागले अनुगमन गर्दा व्यवसाय चौपट बनाउन लागेको भन्दै व्यवसायीहरुले आफूहरुलाई थर्काउने काम भएको उनको गुनासो थियो । यसको उदाहरण दिँदै विभागले हालै काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेमा हलमा अनुगमन गर्दा हुलदंगादेखि आफूहरुमाथि अपशब्द प्रयोग भएको उनले सुनाए । तर, पछि थप सुरक्षाकर्मी बोलाएर आफूहरुले अनुगमनको बाँकी काम पूरा गरेको उनले बताए ।
चाडपर्वलाई लक्षित गरी अहिले देशभरि ७३ वटा सुपथ मूल्यका पसलहरु सञ्चालनमा रहेको पनि सुनाए । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको सुनाए । उनले सरकारले आफैं घाटा व्यहोरेर भएपनि नुन, चिनी, डिडिसीको घ्यु, खसी बोका, चामलमा सहुलियत दरमा उपलब्ध गराएको उनको दाबी छ । चिनीको मूल्यको सन्दर्भ उल्लेख गर्दै साल्ट टेडिङ्ग कर्पोरेशनको चिनीका मूल्यका कारण बजार नियन्त्रणमा रहेको सन्दर्भ समेत उनले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता यामलाल भुसालले दशैं, तिहार छठ चाडपर्व नजिकिँदै बजार व्यवस्थापन विषयमा प्रधानमन्त्री कार्यालयको ध्यान केन्द्रित भएको बताए । प्रधानमन्त्री कार्यालयले विभिन्न पक्षहरुसँग समन्वय तथा सहकार्य गरेर राज्यका सरोकारवाला सबै निकायहरु संलग्न हुन आग्रह गरे । चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा, आपूर्ति व्यवस्थापन, यातायात क्षेत्रलाई सरल र सुरक्षित बनाउने दायित्व राज्यको भएकोले सञ्चारमाध्यमले पनि यस क्षेत्रलाई सुसूचित बनाउन सहयोग गर्नुपर्ने उनको तर्क थियो ।
उपत्यका प्रहरी प्रमुख (डीआइजी) शैलेश थापाले चाडपर्वको बेला अपराधका घटनाहरु पनि बढ्न सक्ने हुनाले यसतर्फ नेपाल प्रहरी सचेत रहेको बताए । दशैंमा घर जाने यात्रुहरुलाई शकुशल गन्तव्यसम्म पुऱ्याउन सुरक्षा निकायले खेल्नुपर्ने भूमिकामा आफूँहरु सचेत भएको बताए । उपत्यका प्रहरी प्रमुख थापाले चाडपर्वको बेला आम नागरिकलाई सहज र सरल ढँगले जीवन बनाउन आयोजित कार्यक्रम महत्वपूर्ण भएको बताए ।
त्यसैगरी कार्यक्रममा साल्ट टेडिङ्ग कर्पोरेशनका नायव महाप्रबन्धक कुमार राजभण्डारीले जनताको माग र गुणस्तरलाई ध्यान दिँदै साल्ट टेडिङ्ग कर्पोेरेशनले आफ्ना कामहरु गर्दै आइरहेको बताए । महाप्रबन्धक राजभण्डारीले सुपथ मूल्य पसल, घुम्ती सेवाले उपभोक्ताहरु लाभान्वित भएको जनाए । माग भई आएका कतिपय जिल्लाहरुमा कर्पोरेशनले सुलभ मूल्यको घुम्ती सेवा जिल्ला जिल्लामा समेत पु¥याएको बताए ।
त्यसैगरी कार्यक्रममा उपभोक्तावादी नेता माधव तिमिल्सिना र रञ्जनालले बजारको मूल्य अनियन्त्रित भएको र कालाबजारीहरु चाडपर्वका बेला सल्बलाईरहेकाले सरकार नै नभएको आम सर्वसाधारणले अनुभूति गरेको टिप्पणी गरे ।