काठमाडौं – तनहुँको दमौली बजारमा आइतबार बिहान साढे १० बजेदेखि लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ ।
आगलागीको खबर सुनेपछी नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ आफै हेलिकप्टर लिएर दमौली पुगेका थिए ।
काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकप्टर, पोखराबाट गएकोसहित आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा चार घण्टाको अथक प्रयासपछी आगो निभाइएको हो ।
आगलागीमा परेर सात वटा घर जलेका छन् भने अरू ठाउँमा आगो नफैलियोस् भनेर अरू चार वटा घर डोजर लगाएर भत्काइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आगलागीका कारण मानवीय क्षति नभए पनि अरू क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । आगो लाग्नुको कारण भने खुल्न सकेको छैन ।