(काठमाडौं) – स्वास्थ्य तथा जनसंख्या मन्ती भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् । बुधबार मन्त्रालयमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसका संक्रमितको उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामग्रीको अभाव झेल्नु नपर्ने बताए ।
आवश्यक स्वास्थ्य सामग्रीहरू अस्पतालमा पुगेको भन्दै कतिपय सामग्रीहरू निरन्तर पुर्याइने बताए । सुदूरपश्चिम प्रदेशको संवेदनशीलतालाई सरकारले बुझेको भन्दै उहाँले कोभिड–१९ को नमूना परीक्षणको काम दोब्बर बनाउनका लागि बुधबारमात्रै हेलिकप्टर मार्फत पीसीआर मेसिन धनगढी पठाइएको जानकारी दिए ।
मन्त्री ढकालले नागरिकको तर्फबाट समेत सकारात्मक सहयोगको निम्ति भूमिका निर्वाह गरिदिन सांसदहरुलाई अनुरोध गरे ।
सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाममा भईरहेको काम थप प्रभावकारी बनाउने विषयमा आफ्नो भनाइ राख्दै बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले नागरिकहरू अहिले पनि सीमा वारपार गरिरहेको भन्दै चिन्ता प्रकट गरे । उनीहरुले सरकारले गरेको प्रयास प्रशंसनीय रहेको र शंकास्पद बिरामीको नमूना परीक्षणको दर बनाउनुपर्ने बताए ।